काठमाडौं । विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने भएका छन् । अर्थमन्त्री शर्माले पूर्व नायब सुब्बा रघुनाथ घिमिरे र इन्फिनिटी होल्डिङ्सका प्रतिनिधिलाई बजेट निर्माणमा सहभागि गराएर करको दर हेरफेर गरेको भन्दै चौतर्फी दबाब बढेपछि राजीनामा दिने भएका हुन् ।
बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेर राजीनामा दिन लागेकाले बैठक बस्न विलम्ब भइरहेको विश्वस्त स्रोतको भनाइ छ।
यसै विषयलाई लिएर नेकपा माओवादी केन्द्र पूर्वस्थायी कमिटी सदस्यहरूको आज बिहान बैठकसमेत बसेको थियो।
अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप लागेको छ।