त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षको मिलेमतोमा आँखु खोला दोहन गरेको आरोप !

दियो पोस्ट  

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतिको संलग्नतामा आँखु खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् हुन थालेको छ । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष उप्रेतिले आफू निकट व्यक्ति र आफ्नै स्क्याभेटर समेत परिचालन गरेर आँखु खोलामा अवैध रुपमा बालुवा उत्खनन् गरेको आरोप छ ।

हिजो बुधबार साँझ खोलामा अवैध रुपमा बालुवा तस्करी गर्दै गरेको अवस्थामा स्क्याभेटर र टिफर नियन्त्रणमा लिएर स्थानियले प्रहरीलाई बुझाएका थिए । तर, स्थानियबासीको अवरोधकाबीच फेरी आज विहिबार पनि अवैध उत्खनन् शुरु भएको छ ।

विहिबार विहानै स्क्याभेटर र टिफरसहित खोलामा फेरी प्रवेश गरेपछि स्थानियबासीले पुन नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् ।

गाउँपालिका अध्यक्ष उप्रेतिले २०७९ असार २१ गतेको मितिमा आफ्नो हस्ताक्षरसहित जारी गरेको परिपत्रमा नदिजन्य पदार्थको (ढुंगा, गिट्टी बालुवा)को राजश्व सुंकलन गाउँपालिकाले नै गर्ने उल्लेख छ । गाउँपालिका स्वयंमले संचालन गरेका निर्माण कार्याका लागि राजश्व नकाट्न भन्दै परिपत्र गरिएको छ । तर, उक्त परिपत्रलाई देखाएर गाउँपालिका अध्यक्ष उप्रेतिका अति निकट पात्र सुवास बुर्लाकोटीले पठाएको भन्दै खोलामै स्क्याभेटर र टिफर लाइन लागेका थिए ।

‘हिजो हामीले नियन्त्रणमा लिएपछि फेरी आज झन धेरै स्क्याभेटर र टिफर आएका छन्,’ स्थानिय मनोज कँडेल सामाजिक संजालमा लाइभ गर्दै भनेका छन्,‘ठेक्का नखोली किन यस्तो गरिएको हो ?’ यता गाउँपालिका अध्यक्ष उप्रेती भने बर्खायाममा आगिन्चोक हुँदै बुढाथुम बसेरीसम्मको बाटो बनाउने क्रममा उत्खनन् गर्न पठाएको तर, कर उठाउने र नउठाउने विषयमा स्थानिय युवाहरुबीच विवाद हुँदा रोकिएको बताए । बाटो सुचारु गर्नका लागि चाहिने बालुवा गिट्टी उत्खनन् गर्न जिल्ला प्रशासन कार्यालयसँग सहयोग लिन आफूहरु जाँदै गरेको उनले बताए ।