सिनेमा प्रदर्शन गरिने सेतो पर्दालाई रजतपट भनिन्छ । यही पर्दाको नाम नक्कल गरेर आफूलाई चिनाएका टेलिभिजन प्रस्तोता प्रकाश सुवेदी बेलाबेला विवाद र चर्चामा आइरहन्छन् । उनले चलचित्र क्षेत्रको टिप्पणी र अन्तर्वार्ता लिन्थे । तर, अहिले उनको यो घेरा बदलिएको छ । चलचित्रका नायक नायीकालाई पर्दामा देखाएर विवाद र चर्चामा आउने उनी अहिले ठगी अभियोगमा दोषी करार भई सजाय काटेकाहरुलाई निर्दोष देखाउन आफ्नो लोकप्रियताको दुरुपयोग गरिरहेका छन् भन्दा अन्यथा नहोला । यीनै प्रकाश सुवेदीले आफ्नै नामबाट प्रकाश सुवेदी शो एपिवान र सुत्र टिभी मार्फत संचालनमा ल्याएको धेरै भएको छैन । उनको यो शोमा गत आइतबार देखिए—बिजय भण्डारी उर्फ बालयोगेशवर विजयकृष्णमूर्तिजी महाराज । टेलिभिजनको पर्दामा देखिएका महराजको हुलियाले उनी योगी वा सात्विक होइनन् भन्ने स्पष्ट देखाउँथ्यो । उनको हातमा घडी र औँलाहरुमा सनका जस्तो देखिने औँठी थिए । योग, ध्यान, साधनामा लागेका र बालयोगेश्वर हासिल गरेका धार्मिक गुरुहरु भौतिक सुविधाबाट टाढा देखिन्छन् । तर, उनको हुलिया भने यस्तो थिएन । उनको हुलियासँग ईतिहास जोडिन्छ । फौजदारी कसुरमा दोषी करार भई कागार चलान भएका उनै भण्डारीले पशुपति कोटिहोम नाम दिएर फेरी अर्को ठगी श्रङखला चलाइरहेका छन् ।
गत साउन १ गतेदेखि पशुपति क्षेत्रमा चलिरहेको यो कोटिहोम उनकै कारण विवादमा छ ।
विश्व सम्पदा सुचिमा सुचिकृत हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र मानिने ‘पवित्र’ पशुपति क्षेत्रमा यति ठूलो कार्यक्रम आयोजना गरिनु र आयोजक नै ठगी अभियोगमा दोषी ठहर भै कारागार समेत भुक्तान गरेको व्यक्ति हुँदा यो विषय चर्चामा रहनु स्वभाविक हो । अर्को आश्चर्य त के भने यीनै भण्डारीलाई संचार माध्यमहरुले महाठग घोषित गरेका थिए । आज तीनै मिडियाले यस्तो विवादित महायज्ञको विज्ञापन छापेर प्रचार गरिरहेका छन् भने भण्डारीलाई आध्यात्मिक धार्मिक अगुवा करार गरिरहेका छन् । यसैकारण पनि यो विषय खोज मूलक बनेको हो ।

बायाँ तस्बिरमा पहिले कान्तिपरमा प्रकाशित समाचारकाे हाे । र दायाँ तिर अहिले कान्तिपुरले राखेकाे ‘ठग महाराज’ बिजय भण्डारी संकल्पकर्ता रहेकाे काेटिहाेमकाे विज्ञापन हाे ।
बिजय भण्डारी उर्फ बिजय कृष्णमुर्तीबारे बुझ्दा र उनले अहिले आयोजना गरेको कोटिहोम अवलोकन गर्दा शंका गर्नुपर्ने थुप्रै आधारहरु खडा भएका छन् । केही प्रमाणहरु पनि फेला पार्यौँ र त्यसैका आधारमा शिलशिलाबद्ध रुपमा दियो पोष्टले समाचार सम्प्रेषण गर्दै आएको छ । यसबीच पटक पटक कहिले हाम्रो कार्यलयमा शंकाष्पद व्यक्ति पठाएर त कहिले अपरिचित विभिन्न नम्बरबाट कल, मेसेज गरेर धम्काउने र रिर्पोटिङमा प्रभावपार्ने प्रयास समेत नभएका होइनन् । हामीले त्यसबारे गत साउन ११ गते प्रमाण सहित एउटा श्रव्यदृश्य कार्यक्रम समेत बनाएका थियौँ ।
समाचारको लिङक तल छ । यो पनि हेर्नुहोस् ।
ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव, कार्यालयमा शंकाष्पद व्यक्ति ( भिडियाे सहित )
पटक पटकको प्रत्यक्ष तथा अप्रत्यक्ष धम्की आउँदा समेत बिना कुनै प्रभाव हामीले महाराजको कर्तुत अनि कोटिहोमबारे समाचार बजाउन नरोकेपछि अन्तत उनी अर्को मिडियाको सहारा लिन पुगेका छन् । यसैक्रममा बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराज जिले महायज्ञमा बोलाएर आफुले सम्मान गरेको टेलिभिजन प्रस्तोता मार्फत आफ्नो कर्तुत लुकाउने प्रयास गरेका छन् ।

तस्बिर स्राेत : मानव सेवा फाउण्डेसनकाे फेसबुक पेजबाट ।
द प्रकाश सुवेदी शो, एपि वान टेलिभिजनबाट प्रसारण हुने कर्याक्रम हो । यस कार्यक्रममा गत आईतबार प्रस्तोता सुवेदीले अतिथिको रुपमा पशुपति कोटिहोमका संकल्पकर्ताका रुपमा रहेका उनै भण्डारीलाई बोलाएका थिए । कार्यक्रम कुनै आध्यात्मिक बिचार, जीवनदर्शन, मानिसको जिवनमा धार्मिक कर्मकाण्डको महत्व भन्दापनि उनका विरुद्धमा प्रशारण तथा प्रकाशन भइरहेका समाचारहरुमा केन्द्रित थियो ।
महाराजमाथी लेखिएका समाचारहरुमा कुनै सत्यता नभएको र जे जति संचारगृहले समाचार लेखिरहेका छन्, ती सबैले उनीसंग बार्गेनिङ गर्न खोजेको भन्ने गम्भिर आरोप समेत लगाएका छन् । साथै उनले बाहिरी शक्तिबाट परिचालित जस्ता अभिव्यक्ति समेत दिएका छन् ।
कार्यक्रम पुरा हेर्दा कार्यक्रमले सत्यतथ्य कुरा बाहिर ल्याउनुको साटो बाहिरिएका सत्यतथ्य समाचारलाई समेत झुटो साबित गर्न महाराजलाई कार्यक्रममा बोलाएको आभाष हुन्छ । किनकी कार्यक्रमको सुरुवातमै प्रस्तोताले महाराजलाई परिचय गराएपछि यसो भन्छन्, अब आज विगतमा भन्दापनि वर्तमानका कुरा बढि गर्नेछौँ । यसमा महाराजले “एकदम” भन्दै सहमति जनाउछन् ।
“विगतका कुरा आइहाल्यो भने आइहाल्यो नत्र वर्तमानका कुरामा बढि केन्द्रित हुनेछौँ । किनकी वर्तमानमा धेरै प्रश्न आइरहेका छन् । सबै भन्दा पहिला चाहीँँ जसै यहाँको नाम हामीले सुनेको विष्णु भण्डारी , त्यसपछि विष्णु प्रपन्नाचार्य त्यसपछि यतिखेर आएर बालयोगेश्वर बिजय कृष्णमुर्तीजी महाराज ।”
प्रस्तोता सुवेदीले यसरी शुरुवात गरेपछि महाराज बताउने भण्डारीले भन्छन्,“खास गरेर यो मिडियाले चाहीँँ धेरै नाम बनाइदिएका छन् । र मेरो विष्णु भण्डारी नाम भनेर कहिपनि छैन पहिलो कुरो त । खास मेरो चाहीँ नागरिकताको नाम बिजय भण्डारी भनेर छ । र विशेष गरेर चाहीँँ भगवान विष्णु प्रति चाहीँँ समर्पित र स्वर्णागत भएको हुनाले चाई विष्णुु प्रपन्नचार्य भनिएको हो । र यो श्री वैश्णव सम्प्रदायबाट प्राप्त नाम हो । श्री पुज्य गुरुदेवले दिनुभएको नाम हो त्यो । र अहिले चाहीँँ मलाई खास सबैले पहिले देखिनै चाई योगक्षेत्रमा आध्यात्मिक क्षेत्रमा लागेको हुनाले बालयोगी गुरु बालयोगी भनेर चाई मलाई सबैले सानैदेखि सबैले भन्नुहुन्थ्यो । र २०१३ सालमा अङ्ग्रेजी २०१३ सालमा चाई कुम्भ मेलामा केही साधुसन्तहरुले बाल योगेश्वर गुरु भनेर सम्बोधन गरेका हुनाले नै बाल योगेश्वरको नामबाट नै म परिचित छु । बिजय त मेरो बिजय भण्डारी नै मेरो नाम रहयो । बालयोगेश्वर बिजय भगवान कृष्ण प्रति चै समर्पित भएकाले ।”
प्रस्तोताले थप सोध्छन्,“नागरिकतामा चाहीँ के छ ?” महाराज जवाफ आउँछ, “बिजय भण्डारी ।”
प्रस्तोताले यो बिच कुनै प्रतिप्रश्न गर्दैनन् । उनी महाराजको कुरामा पुर्णरुपमा सहमत भएको देखिन्छ । एउटा ठगले सक्कली नाम बताएर कति पटक ठग्ला ? मान्छे पिच्छे फरक फरक नाम बताएर धर्मको आडमा सोझासाझालाई ठगी गरेको व्यक्तिले स्टुडियो मै आएर झुट बोलिरहदा पनि झुट समाउन नसक्नु कि कमजोर अनुसन्धान हो या त मिलेमतोमा बनाइएको अन्तर्वार्ताको स्क्रिप्ट ।
प्रस्तोताले कोटिहोमको निकै तारिफका साथ दोस्रो प्रश्न बुन्छन्,—“यतिखेर तपाईं मुल संकल्पकर्ता कोटिहोमको । पशुपति क्षेत्रमा कोटिहोम चलिरहेको छ । कोटिहोमलाई लिएर सकारात्मक कुराहरुपनि धेरै छन् । दर्शनार्थिहरु, भक्तजनहरुको उपस्थिती बढ्दो छ । तथा प्रवचनमा झुमेको रमेको, गीत संगितमा झुमेको रमेको, नाचेको देख्छौँ हामी । यतिका कलाकर्मीहरु पनि त्याँ पुग्नुभएको छ । धेरै खाले प्रतिक्रिया दिनुभएको छ । राम्रो सकारात्मक रुपमा । तर धेरै तपाइँहरुका बारेमा कोटिहोमका बारेमा नकारात्मक टिकाटिप्पणीहरु भैरहेको छ । यसलाई तपाईंहरु कसरी लिनुहुन्छ ?”
प्रस्तोताले सोधेको माथिको प्रश्नमा महाराजबाट प्रस्तोता धेरै नै प्रभावित देखिन्छन् । बेलाबेला भिडियोमा महाराजका बारेमा विभिन्न संचारमाध्यममा प्रकाशित समाचारका कटिङहरु समेत राखिएका छन् । कटिङमा देखाइएको विषयवस्तु, प्रस्तोताले सोधेका प्रश्न र बिजय भण्डारीले दिएको उत्तरमा कुनै मेल देखिँदैन ।

कटिङ गरेर राखिएको पोष्टरमा “ठगी अभियुक्त धर्मगुरुको समाचार रोक्न दियोपोस्टलाई दबाव कार्यालयमा शंकाष्पद व्यक्ति” शिर्षक पनि राखिएको छ ।
श्रावण एघार गते दियो पोष्टको कार्यालयमा चार जना व्यक्ति आएर कोटिहोम र महाराजबारे समाचार रोक्न धम्कि दिएपछि दियोपोष्टले सो समाचार प्रकाशित गरेको हो । तर यो विषयलाई प्रस्तोताले एकदमै हल्का रुपमा लिएको र अध्ययन नै नगरि एकपक्षिय हिसाबले प्रश्न गरेका छन् । दियोपोष्टमा अहिलेसम्म बिजय भण्डारीका बारे प्रकाशित समाचार प्रमाण सहित लेखिएका छन् । र प्रकाशित समाचार नकारात्मक नभएर समाचार बन्न आवश्यक सबै तत्व पूरा गरेर बनाइएको छ । समाचारको स्रोत, सम्बन्धित निकायबाट प्राप्त प्रमाण, आरोपित व्यक्तिको भनाई लगायत आवश्यक तत्वहरु समावेश गरिएको छ । समाचारले उठाएका गम्भिर प्रश्नको जवाफ खोज्नु पत्रकारको धर्म हो तर सुरुवातमै नकारात्मक भनेर महाराज माथी उठेका प्रश्नको कुनै औचित्य नरहेको भन्ने नियतले प्रश्न गरिनुले प्रस्तोताको नियतमाथी नै प्रश्न खडा हुन्छ । एक जिम्मेवार पत्रकारले सत्यतथ्य कुरा बाहिर ल्याउन प्रयास गर्ने हो । तर प्रस्तोताबाट त्यो कष्ठ गरिएको देखिदैन ।
जवाफमा बिजय कृष्णमुर्ती महाराज यो आफ्नो पहिलो कोटिहोम नभएको र यस अघि सयौँ यज्ञ यज्ञाधीहरु सम्पन्न गरिसकेको बताउछन् । उनी भन्छन, “बिगत १७ वर्षदेखि आध्यात्मिक, धार्मिक, सामाजिक र राष्ट्रको सेवामा म लागिरहेको छु र यो जगजायर छ । अहिले यो कोटिहोमको पनि एक वर्ष अगाडिदेखि नै प्रचारप्रसारको तयारि भैरहेको थियो ।’
ठगी मुद्दामा दोषी ठहर भएका ‘ठग महाराज’लाई प्रहरीले दियो ‘सफाई’ पाएको प्रमाणपत्र
यसबीच आफुले उपत्यका लगायत उपत्यका बाहिर समेत ४, ५ वटा यज्ञगरि सकेको बताउँदै उनी केही आक्रोशित पोखिन्छन्,‘यज्ञमा त्यतिबेला बिरोध नआउने अहिले चाहीँ किन आयो भन्दा बिशाल कार्यक्रम भयो । अन्य कार्यक्रम भन्दा बृहत कार्यक्रम भयो । ठूलो कार्यक्रम भयो । र यसमा चाहीँँ कस्तो भयो भन्दा मान्छेको उपस्थिती भैसकेपछि अलिअलि सहयोग उठ्न लागेको देखेपछि नेपालमा एउटा ईर्स्या गर्ने, डाहा गर्ने । अब यो कतै राजनितीमा आउला की ? हामीहरु भन्दा कतै यो माथी पो जाला की ? अब यो अध्यात्मिक धार्मिक क्षेत्रमा एकक्षत्र राज पो गर्ने हो की ? भोली हाम्रो खाने बाटो र बाच्ने बाटो, माग्ने बाटो हाम्रो हराउने हो की भन्ने केही त्यस्ता व्यक्तित्वलाई लाग्यो र ति व्यक्तिले विरोध गर्न सरु गर्नुभयो । संगसंगै केही प्रायोजित रुपमा नियोजित रुपमा, षडयन्त्रपूर्वक अ… बदलाको भाव लिएर अथवा हुन त मैले कसैको केही नराम्रो गर्या छैन । तर पनि यो व्यक्तिलाई यहाँबाट उठ्न दियो भने भोली हाम्रो रोटी सेक्ने काम चाहीँ सकिन्छ । अथवा हाम्रो खाने बाटो चाहीँँ सकिन्छ । भनेरपनि बिरोध गरियो तर यसमा मान्छेले धर्म हेर्दो रहेनछ । आफ्नो आत्मलाई बिर्सेर यथार्थलाई बिर्सेर बाहिर प्रचारका लागि, यति ठूलो यज्ञको चाहीँँ विरोध गर्यो भने त म पनि ठूलो मान्छे बने भन्ने । किनकी यहा जसले केहि गर्छ त्यसको विरोध गर्ने हो सानो तिनो कुराको त कसैले पनि गर्दैन । ठुलो यति महान यज्ञ अथवा यति महान कार्यक्रम गर्ने व्यक्तिलाई प्रहार गरियो भने यज्ञलाई प्रहार गरियो भने हाम्ले चाहीँ एउटा केहि चाहीँ श्रेय पाइन्छ कि जस पाइन्छ कि अथवा यस्तो व्यक्तित्वको विरोध गर्दा मपनि ठूलो बन्छु कि । आट गरेको व्यक्ति मानिन्छु भनेपनि हो । कतिले चाहीँँ अब पैसाको बार्गेनिङ, कतिलाई विज्ञापन नदिएको रिसमा, कतिलाई चाहीँ मैले नभेट्देको रिसमा ।”

यति बोल्दा सम्म एकोहोरो महाराजलाई सुनिरहेका प्रस्तोताको मुखबाट बल्ल केहि शब्द फुट्छन, “के यो चाहीँँ संचारकर्मिलाई भन्नु भएको हो यहाँले ?” महाराज “हजुर हजुर” भन्दै जवाफ दिन्छन् ।
अघिसम्म आफ्नो कर्मका विरुद्द बोल्नेलाई मनबुझ्ने गरि व्याख्या गरिसके पछि अब पत्रकारकै अघि महाराज पत्रकारीताको धज्जि उडाउन थाल्छन । उनी आफुले विज्ञापन नदिएकाले समाचार बनाएको भन्न थाल्छन् । यससंगै पैसाको बागिनिङ गर्न खोज्ने आसयले समाचार बजाएको समेत आरोप लगाउन थाल्छन् । महाराजको उत्तरमा प्रसन्न प्रस्तोता मुन्टो हल्लाई रहेका हुन्छन् । तर उनले तपाईंले किन कानुनी उपचार खोज्नु भएन वा यस्तो गम्भिर आरोप लगाउनु हुदैछ । तपाईंसंग त्यस्तो के छ प्रमाण सम्म सोध्न सक्दैन्न । बरु उनको उत्तरको बिचबिचमा असान्दर्भिक समाचारका कटिङ राखेर दर्शकलाई महाराज प्रति सहानुभुती जगाउने प्रयास गरिएको छ । उनको ठगीधन्दाबारे समाचार प्रकाशन गर्ने संचारमाध्यमप्रति लगाइएको गलत आक्षेपको प्रश्रय गरिएको छ ।
उक्त अन्तवार्ताका क्रममा बिजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्तिजी महाराजले आफूमाथिको लागेको ठगी आरोपबारे स्पष्टिकरण दिए । पशुपतिमा जारी कोटीहोम महायज्ञका संकल्पकर्ताका रुपमा प्रकट भएका यी महाराजले भनेका थिए,“ नेपाल सरकारको महातहतमा रहेको नेपाल प्रहरी हेटक्वाटरबाट यो व्यक्तिको आजका दिनसम्म कुनै पनि क्रिमिनल रेकर्ड नभएको भनेर मे को २७ एक महिना अगाडीको पुलिस रिर्पाेट मसँग छ भनेपछि म कसरी क्रिमिनल व्यक्ति भएँ ?”
त्यतिमात्रै होइनको गुणगानका लागि प्रकाश सुवेदी शोले तयार पारेको भिडियो रिपोर्टमा पनि उनलाई प्रहरीले क्लिन चिट दिएको उल्लेख छ । जबकी कुनै पनि व्यक्तिलाई अपराध प्रमाणित गर्ने र सफाई दिने अधिकार प्रहरीलाई होइन अदालतलाई छ । भण्डारी तिनै अभियुक्त हुन् जसलाई ठगी अभियोगमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर गरिएको छ । उनको मुद्दामा पुनरावेदन अदालत पाटनबाट समेत शुरु सदर भएकाे थियाे ।

यस्तै गत श्रावण १९ गतेका दिन दियोपोष्टले “अनाथका लागि पशुपतिमा कोटिहोम चलाउने ‘ठग महाराज’ले पत्नि र छोरा ‘बिचल्ली’ बनाएको खुलाशा” शिर्षक राखेर समाचार प्रकाशन गरेको थियो । यति गम्भिर कुरामा पनि द प्रकाश सुवेदी शो का प्रस्तोताले महाराजलाई कुनै प्रश्न गरेको पाइएन । यसले पनि यो अन्तरवार्ता योजनाबद्ध रुपमा महाराजका कर्तुतबारे लेख्ने र बोल्नेमा सर्मपित रहेको प्रष्ट हुन्छ ।
समाचारको लिङक तल छ । यो पनि हेर्नुहोस् ।
गत श्रावण १५ गतेका दिन दियोपोष्टले “पशुपतिमा ‘कोटीहोमः “ठग महाराज” बिजय भण्डारीले प्रयोग गरेका ९ “अस्त्र” शिर्षकमा पनि समाचार सम्प्रेषण गरेको थियो । तर सो समाचारको कटिङ कार्यक्रमको बिचबिचमा नचाएपनि असान्दर्भिक रुपमा राखिएका दान सचिवालय, दानवीर बन्न प्रेरित गर्ने स्किम बोर्ड लगायत कुनैपनि विषयमा प्रश्न गरिएको छैन।
समाचारको लिङक तल छ । यो पनि हेर्नुहोस् ।
पशुपतिमा ‘कोटीहोम’ : ‘ठग महाराज’ बिजय भण्डारीले प्रयोग गरेका ९ अस्त्र ( भिडियाे सहित )
वि.सं २०६९ साल देखि नै ठगी गर्दै आएको र पटक पटक कारागार बसेका प्रमाणहरु सार्वजनिक भैसकेको अवस्थामा पनि महाराजको कुरालाई पत्याएर मुन्टो हल्लाउनुको साटो प्रति प्रश्न गर्नुपर्ने हो । महाराजबारे प्रकाशन भएका पुराना समाचार अहिले पनि साईटमा जतिपनि पढ्न पाईन्छन। तर प्रस्तोताले त्यो कष्ठ गर्न जरुरी मानेन्न । बरु उनले विविध कारणले सार्वजनिक हुन नसकेका र नचाहेका पिडितको पिडालाई नजरअन्दाज गर्ने काम गरेको पाइन्छ ।
पत्रकारीता भनेको कमजोर समुहको आवाज बन्नु हो न कि बलियाको गुलियो । तर सम्मान थापेर बाक्लो सोफामा आसनग्रहण गरेका टेलिभिजन प्रस्तोता सुवेदीले पत्रकारिताको मर्मलाई ख्याल नगरि एकतर्फी महाराजको कुरालाई सर्वोपरी मानेको देखिन्छ ।
भिडियोको १३ मिनेट सात सेकेण्डमा प्रस्तोताले गुल्मीको रुन्खादह माविमा २०७५ सालमा महायज्ञ आयोजना गरेर महाराजले रकम अपचलन गरेको विषयलाई भने छोएका छन् । २०७६ साल माघ ११ गते कान्तिपुरमा उक्त घटनाबारे लेखिएको समाचारको अंश यस्तो छ । गुल्मी दरबार गाउँपालिका–४ रुन्खादह माविका पूर्वप्रधानाध्यापक ठाकुरप्रसाद शर्माले ‘महाराज महा कहलिएको ठग भएको’ बताए ।
२०७५ चैत २३–३ सम्म विद्यालयले आयोजना गरेको महायज्ञमा उठेको रकम एक्लैले कुम्ल्याएर हिँडेको भन्दै उनले महाराजका नाममा ठगी भइरहेको दाबी गरे । ‘सुरुमा ५० लाख मात्र नगद उठे आफूले कुनै रकम नलिने बताए । तर यज्ञ सकिएपछि जम्मा उठेको ५० लाखमध्ये २ लाख मात्र विद्यालयलाई दिएर ४८ लाख नगदै लिएर गए ।’ धर्म र यज्ञका नाममा ठगी भएको बताउँदै उनले महायज्ञमा बाँकी कबोल भएको १ करोड २८ लाख रकममध्ये धेरै रकम अहिलेसम्म पनि उठ्न नसकेको बताए ।
स्वघोषित महाराज भण्डारीको छवि गाउँलेमाझ पनि राम्रो छैन । गुल्मी नागरिक समाजका अध्यक्ष पदम पाण्डेले उनले विभिन्न विद्यालयमा महायज्ञ गर्दै हिँड्ने र उठेको नगद रकम विभिन्न बहानामा जबरजस्ती असुल्ने गरेको बताए । भने, ‘उनको ठगीको कुरा उठेपछि रिडीमा सञ्चालन गरेको धार्मिक महायज्ञ पनि घाटामा गएको थियो ।’
यसरी प्रष्ट रुपमा लेखिएको समाचारका बारे प्रस्तोताले चलाखीपुर्ण “ तर गुल्मको स्कुलको कुरा आइराखेको छ नि!” भन्दै महाराजले मात्र बुझ्ने तरिकाले सोधेका छन् ।

श्रावण ३ गते “ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ” शिर्षकमा प्रकाशित भएको थियो । अदालतको फैसला सहितको प्रमाण राखेर प्रकाशित गरिएको समाचारलाई प्रस्तोता नियोजित रुपमा लुकाउन खोज्छन् ।
प्रकाशित समाचारको लिङ्क तल छ ।
ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट सहित )
कार्यक्रममा सर्वसाधारणलाई भ्रमित बनाउने र धर्मका नाममा गर्दै आएको अपराध ढाकछोप गर्ने प्रयास समेत गरेका छन् । र पटक पटक ठगि मुद्धामा कारागार जिवन बिताएका महाराजलाई पनि प्रहरीले क्लिन चिट दिइसकेको झूटो बक्तव्य मार्फत महाराजको संरक्षणमा उत्रिएका छन् । आफूलाई नेपालको चर्चित टेलिभिजन प्रस्तोता देखाउन खोज्ने यी महासयलाई कुनै पनि अभियुक्तलाई अपराधमा दोषी करार गर्ने अधिकार अदालतलाई मात्रै छ र प्रहरी प्रशासन भने अनुसन्धान गर्ने एउटा सामान्य निकाय हो भन्ने समेत हेक्का छैन । यसले महाराजबाट ठगिएर पिडित भएका पिडित र उनीबाट अन्यायमा परेका सबैको घाउँमा नुनचुक छर्ने काम गरेको छ ।
टेलिभिजनको पर्दाबाट खुलमखुल्ला कथित महाराजको ठगीधन्दालाई ढाकछोप गर्न अग्रसर सुवेदीलाई एक छिन पत्रकार आचारसंहिता पनि पढाउनुपर्ने देखियो ।
पत्रकार आचारसंहिता, २०७३ को पहिलो संशोधन २०७६ को बुदाँ नम्बर पाँचमा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कार्यबारे स्पष्ट लेखिएको छ । दफा नम्बर पाँचमा जम्मा १४ वटा उपदफा रहेका छन । उपदफा १२ मा पेशागत मर्यादाविपरित उपहार तथा पुरस्कार ग्रहण बारे प्रष्ट लेखिएको छ ।
(१२) पेशागत मर्यादाविपरीत उपहार तथा पुरस्कार ग्रहण :
(१) पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका उपहार वा विशेष सुविधा लिनुहुँदैन ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा, व्यावसायिकता र दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै प्रकारका पुरस्कार वा सम्मान ग्रहण गर्नुहुँदैन ।
यसरी आचार संहितामै पेशागत मर्यादाबारे स्पष्ट लेखिएतापनि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत स्वयम कोटिहोममा उपस्तिथी भई सम्मान लिदै गरेको तस्बिर बाहिरिएका छन् । उनी लगायत अरु थुप्रै संचारगृहका संचारकर्मीले पनि कार्यक्रममा उपस्थिती हुने र सम्मान थाप्ने गरेका छन् । जसमा रिपोर्टस क्लबका संस्थापक तथा टेलिभिजन प्रस्तोता ऋषि धमला, तमसोमा ज्योतिगर्मय कार्यक्रमका संचालक टिकाराम यात्री, रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी लगायत दर्जनौ पत्रकारका तस्बिरहरु मानवसेवा फाउण्डेसनको फेसबुक पेजमा राखिएको देख्न सकिन्छ ।

‘ठग महाराज’ बिजय भण्डारीबाट सम्मान ग्रहण गर्दै प्रेसकाउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत ।
तस्बिर स्राेत : बालकृष्ण बस्नेतकाे फेसबुकबाट ।

तस्बिर स्राेत : मानव सेवा फाउण्डेसनकाे फेसबुक पेजबाट ।

‘ठग महाराज’ बिजय भण्डारीबाट सम्मान ग्रहण गर्दै पत्रकार टिकाराम यात्री
तस्बिर स्राेत : मानव सेवा फाउण्डेसनकाे फेसबुक पेजबाट ।

‘ठग महाराज’ बिजय भण्डारीबाट सम्मान ग्रहण गर्दै रिपोर्टस क्लबका संस्थापक तथा टेलिभिजन प्रस्तोता ऋषि धमला ।
तस्बिर स्राेत : मानव सेवा फाउण्डेसनकाे फेसबुक पेजबाट ।

‘ठग महाराज’ बिजय भण्डारीबाट सम्मान ग्रहण गरेपश्चात उपस्थितीलार्इ सम्बाेधन गर्दै रिपोर्टस क्लबका संस्थापक तथा टेलिभिजन प्रस्तोता ऋषि धमला ।
तस्बिर स्राेत : मानव सेवा फाउण्डेसनकाे फेसबुक पेजबाट ।
पत्रकारहरु यसरी महाराजबाट सम्मान मात्र थापिरहेका छैन्न । सम्मानगरे वापत अभियोग लागेर कारागार बसिसकेको व्यक्तिलाई सफाई दिन प्रतिष्पर्धामा देखिन्छन् । महाराजबाट ठगिएका व्यक्तिका बारेमा खोज तलास गरि सत्यतथ्य कुरा बाहिर ल्याउनुको साटो पिडितलाई झन् पिडा दिने र आरोपितको छवि राम्रो बनाउन अग्रसर देखिनुले नेपाली मिडियाको कार्यशैलीमाथि प्रश्न उठेको छ ।
संचारमाध्यममा प्रसारण भएको समाचारमा यदि सम्बन्धित व्यक्तिलाई चित्त नबुझेमा वा सम्बन्धित संचार माध्यमले खण्डन प्रकाशन नगरेमा उसले कानुन बमोजिम प्रेस काउन्सिलमा उजुरी दिन मिल्ने प्रावधान रहेको छ । पत्रकार आचारसंहिता २०७३ ले यसको व्यवस्था गरेको छ । उजुरी र कारबाही दफा ६ को उपदफा १ को क, ख, ग, मा यसको व्याख्या गरिएको छ ।
६. उजुरी र कारबाहीसम्बन्धी व्यवस्था :
(१) कुनै पत्रकार वा सञ्चारमाध्यमले यो आचारसंहिता उल्लङ्घन गरेमा सोसम्बन्धी उजुरी तथा कारबाही प्रक्रिया देहाय बमोजिम हुनेछ ः
(क) कुनै सञ्चारमाध्यममा प्रकासित÷प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएको लागेमा सोबाट असर पर्ने व्यक्ति, समुदाय वा संस्थाले सम्बन्धित सञ्चारमाध्यममा आफ्नो प्रतिक्रिया वा खण्डन पठाउन सक्नेछ । प्रतिक्रिया वा खण्डन बुँदागत रुपमा स्पष्ट, संक्षिप्त, तथ्यपरक, शिष्ट र मर्यादित हुनुपर्नेछ ।
(ख) खण्ड (क) बमोजिम प्रतिक्रिया वा खण्डन प्राप्त भएपछि त्यसलाई उचित स्थान दिई यथाशीघ्र प्रकाशन वा प्रसारण गर्नु सम्बन्धित सञ्चारमाध्यमको कर्तव्य हुनेछ ।
(ग) खण्ड (ख) बमोजिम सम्बन्धित सञ्चारमाध्यमले प्रतिक्रिया वा खण्डन प्रकाशन वा प्रसारण नगरेमा वा चित्तबुझ्दो जवाफ नदिएमा मर्का पर्ने पक्षले पैंतीस दिनभित्र काउन्सिलमा उजुर गर्न सक्नेछ । म्यादभित्र उजुर गर्न नसकेको मुनासिब कारणसहित उजुर गरेमा काउन्सिलले म्याद नाघेपछि पनि त्यस्तो उजुरी लिन सक्नेछ ।
यसरी दफा ६ मा १० वटा उपदफामा प्रष्टसंग व्याख्या गरिएको छ । जसमा उजुरी कसरी दिने र कारबाहीका लागि कसरी अघि बढ्ने भनेर प्रकिृयागत रुपमा व्याख्या गरिएको छ ।
तर श्री बिजय कृष्णमुर्ती महाराज जिले कानुनी उपचार खोज्नुको साटो महायज्ञमा बोलाएर आफुले सम्मान गरेको पत्रकारलाई अन्तरवार्ता दिन जानुले नियत प्रष्ट बनाएको छ । र महाराजलाई संचारमाध्यममा बोलाएर अन्तरवार्ताको अवसर दिने संचारगृहले उनले विगतमा गर्दै आएको अपराधलाई अदालतको भुल वा त्रुटी हो भन्ने आसय बनाएर न्यायलय माथी नै सर्वसाधारणमा आशंका पैदा गरेको छ ।
त्यतिमात्रै होइन ठगी, अपराध र विश्वासघात लगायत चार वटा छुट्टा छुटै अपराधमा विजय भण्डारीमाथि प्रहरीले अनुसन्धान गरेको हो । त्यसमध्ये वैदेशिक रोजगार ठगीको एउटा मुद्दामा मिलापत्र भएको छ । तर, सृजना कार्कीसमेत ३३ जना जाहेरकर्ताले दिएको जाहेरीमा भने मिलापत्र भएको छैन । यो जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटनसम्मले भण्डारीलाई दोषी करार गरि कारागार पठाएको हो । तर, टेलिभिजन प्रस्तोताले भने उनले सफाई पाएको र मिलापत्र भएको जस्ता झूटा प्रसंग देखाएर आम मानिसलाई बेवकुफ बनाइदिए । जसका समाचार दियोपोस्टमै पढ्न सक्नुहुनेछ ।
र अन्त्यमा , ( धर्मस्य अयोग्यस्वार्थः धर्मनाशं करोति । अर्थात, धार्मिक मान्छेको गलत स्वार्थले धार्मिकताको नास गर्छ । )
पत्रकार आचारसंहिता, २०७३ काे लिङ्क तल छ ।