काठमाडौं, ८ कात्तिक । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन् । प्रचण्डको यस किसीमको अभिव्यक्तिलाई २ नम्बर प्रदेशले गम्भिर रुपमा लिएको बताउँदै नेता लालले आफुहरु पनि सामना गर्न तयार भएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रचण्डले जनकपुरमा २ नम्बर प्रदेशलाई ठाडै चेतावनीको स्वरमा धम्की दिएको बताए । संघिय सरकारले संविधान तोडेको खण्डमा पुरा मधेशी जनता प्रतिकारमा उत्रने समेत चेतावनी दिएका छन् । ‘प्रचण्डले जनकपुर आएर ठाडै धम्की दिए’ उनले भने ‘आफु सत्तामा जान संघ र प्रदेश बिच द्वन्द चर्काउने खेलमा लागेका छन ।’
मुलुकमा अराजकताको स्थिति सिर्जना भएमा संघिय सरकारले नै जिम्मेवारी लिनुपर्ने बताउँदै नेता लालले यथाशिघ्र अन्तर प्रदेश परिषदको वैठक डाक्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
२ नम्बर प्रदेश संविधानअनुरुप नै चलेकोले विरोध नगर्न समेत आग्रह गरेका छन् । प्रहरी ऐनमा संविधानविपरित केही नभएको भन्दै संघिय सरकारलाई विरोध नगर्न समेत चेतावनी दिएका छन् ।