आज यमपञ्चकको चौथो दिनः गाई, गोरु र गोवर्द्धन पुजा गरि मनाईदैँ

दियो पोस्ट  

काठमाडौं, कात्तिक २२ । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन, गोवर्धनपूजा। यो दिन बिहानै गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ। गोवर्धन पर्वतको पूजाबाट प्रकृतिको संरक्षण गर्नुपर्ने र यसलाई विकृत पार्न नहुने सन्देश पाइन्छ। गोवर्धनपूजाका अवसरमा देवालय तथा अन्य बाटाहरूमा तोरण टाँग्ने लगायतका कार्य गरेर उत्सव मनाउने विधान छ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ।

यस्तै वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ। यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ।