प्यूठान, मङ्सिर ४ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विकास बजेट खर्च गर्न नसक्ने वर्तमान सरकार परिणामविहीन बन्दै गएको आरोप लगाएका छन् ।
बाग्दुलामा प्रेस यूनियनद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले भने, “समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएकाले परिणामविहीन भएको हो ।” पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकार सङ्घीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए ।
संविधानमा उल्लिखित अधिकारहरु कानून बनाएर काम गर्नुपर्नेमा नौ महीना बितिसक्दा पनि विधेयक संसद्मा पेश गर्न नसक्ने सरकारप्रति जनताको आशा घट्दै गएको उनको भनाइ छ । यातायातको एकाधिकार, सुनकाण्डजस्ता घटनाको संरक्षणमा सरकार नै लागेको उनले आरोप लगाए । सबै विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर सरकारले जनवादी केन्द्रीयताको चरित्र देखाएको भन्दै विरोध प्रस्तुत गरे ।
उनले नेपाली कांग्रेस पनि कमजोर नेतृत्वको कारणले पछि परेको बताए । विपि, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुुसारको बर्तमान पार्टी जान नसकेको बताउँदै उनले तात्कालिन समयमा देउवा सरकारले पनि जनताको चित्त बुझाउन नसकेकै कारणले निर्वाचनमा हार ब्यहोर्नुपरेको जिकिर गरे ।