काठमाडौं, २७ कार्तिक । अपराधीलाई पक्राउ गरेर मुद्दा चलाउनुपर्ने नेपाल प्रहरीले एक अभियुक्तलाई भने प्रहरी कार्यालय भित्रैबाट भगाएको खुलाशा भएको छ ।
ठगी, अपराध र विश्वासघात गरेको भन्दै अन्नपूर्ण ब्रोडकास्ट मिडियाका मालिक रामेश्वर थापा, प्रबन्ध निर्देशक लक्ष्मी प्रसाद पौडेलसहितका उच्च अधिकारीमाथि कास्की प्रहरीमा जाहेरी दर्ता भएको थियो ।
ठगी अभियोग लागेका अन्नपूर्ण मिडियाका प्रबन्ध निर्देशक पौडेल केही दिन अघि नै कास्की जिल्ला प्रहरी कार्यालयमा पुगेको खुलाशा भएको छ ।
कास्की जिल्ला प्रहरी कार्यालयमा पीडित शिव प्रसाद वास्तोला र प्रहरी उच्च अधिकारीकै समलग्नतामा वार्ता समेत भएको पाइएको छ । ५ करोड २५ लाख रुपैयाँको नक्कली भौचर दिएर ठगी गरेको अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएपछि उनीहरु मिलाउनका लागि प्रहरी कार्यालय पुगेका थिए ।
ठगी अभियोग लागेका पौडेलले पीडित वास्तोलालाई ‘अहिले एक करोड रुपैयाँ क्यास दिने र बाँकी ३ महिनापछि दिने’ सर्त राखेको पीडित वास्तोलाले बताए । तर, पीडित वास्तोलाले आफूलाई पुरै रकम दिनुपर्ने शर्त राखेपछि वार्ता भाँडिएको थियो ।
प्रहरी कार्यालय भित्रै रहेका अभियुक्तलाई पक्राउ गरेर मुद्दा चलाउनुको सट्टा कास्की प्रहरी प्रमुख दान बहादुर कार्कीले ‘फरार रहेको’ भन्दै सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको पाइएको छ ।
यस घटनाबाट कास्की प्रहरी प्रमुख एसपी कार्की ठगी अभियोग लागेका अन्नपूर्ण मिडियाका मालिक रामेश्वर थापा, लक्ष्मी पौडेल सहितका अधिकारीलाई जोगाउने खेलमा लागेको पुष्टि हुन्छ । प्रहरीले पीडित भनिएका वास्तोलालाई नै मिल्न दबाव दिएको र नमिले झुटा मुद्दा लगाएर फसाइदिने धम्की समेत दिएको पीडितले बताएका छन् ।
पीडित वास्तोलालाई फसाउन काठमाडौं प्रहरीमा अन्नपूर्णकै कर्मचारी तथा पीडित वास्तोलालाई अन्नपूर्ण मिडियाको तर्फबाट नक्कली भौचर दिने निरज श्रेष्ठले धम्कीको उजुरी दिएको पाइएको छ ।
वास्तोलाले आफ्नो रकम मागेको विषयलाई नै धम्की बनाएर प्रहरीमा उजुरी दर्ता भएपछि उनलाई फसाउने षडयन्त्र भएको समेत पाइएको छ । पीडित वास्तोलालाई फसाउन प्रहरी महानिरिक्षकको सचिवालयमा कार्यरत एसपी (उपरिक्षक) रमेश थापा पोखरा समेत पुगेको स्रोत बताउँछ ।
प्रहरीमा स्वच्छ छवी बनाएका एसपी थापा ठगि अभियोग लागेका रामेश्वर थापाका आफ्नै भाई हुन् । ठगी अभियोग लागेका दाजुको संरक्षणमा प्रहरी संगठन र महानिरिक्षककै सचिवालयको शक्ति दुरुपयोग गरेपछि एसपी थापामाथि समेत छानबीन हुनपर्ने माग पीडित वास्तोलाको छ ।
अन्नपूर्ण मिडियाका मालिक थापाले एपीवान टेलिभिजनको सब स्टेशन सञ्चालनका लागि भन्दै पीडित वास्तोलासँग कास्की जिल्ला साविक शिशुवा गाविस वडा नम्बर ५ हाल पोखरा महानगरपालिका वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर शिव प्रसाद बास्तोलाको नाममा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु रु ११ करोडमा किनेका थिए । तर, रु ११ करोड मध्ये बाँकी रहेको ५ करोड २५ लाख रुपैयाँको भने देवः विकास बैंकको नक्कली भौचर दिएपछि पीडित वास्तोला विभिन्न निकाय उजुरी गर्न पुगेको थिए ।
जाहेरीमा वास्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडियाका अध्यक्ष रामेश्वर थापा, सञ्चालक प्रश्नरत्न बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत सिइओ लक्ष्मी प्रसाद पौडेल, कर्मचारी निरज श्रेष्ठ र देव विकास बैंकलाई प्रतिवादी बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा थापा सहितका प्रतिवादी विरुद्ध गत असोज १३ गते नै जाहेरी दर्ता भएको छ ।