फेक रेस्क्यु प्रकरण : नर्भिक अस्पतालका प्रमुख बसन्त चौधरीमाथि छानबिन नगर्न तिब्र दबाव

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकको विमा ठगी तथा फेक रेस्क्यु धन्दामा संलग्नहरु केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धन गरिरहेको छ । हालसम्म पक्राउ परेका ७ जनामाथि संगठित अपराध तथा राष्ट्रहित विरुद्धको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । तर, यो धन्दामा संलग्न ठूला माफियामाथिको अनुसन्धानमा ब्युरोलाई प्रभावमा पार्ने कोशिस भइरहेको पाइएको छ ।

विदेशी विमा कम्पनिलाई चर्को उपचार शुल्क दाबी गर्दै आएको नर्भिक अस्पताल र त्यसका संस्थापक अध्यक्ष बसन्त चौधरी, निर्देशक मेघा चौधरीमाथि छानबीन हुनुपर्ने प्रमाणहरु सार्वजनिक भएपछि त्रसित बनेको समुहले सीआइबीका उच्च तहमा अनुसन्धान नगर्न दबाव दिइरहेको खुलेको हो ।

चौधरीमाथि छानबीन हुने देखिएपछि अस्पतालका कागजी अध्यक्ष राजेन्द्र बहादुर सिंहले सीआइबीका उच्च नेतृत्वमाथि तिब्र दबाव श्रृजना गरेका छन् । नेपाल प्रहरीका अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरिक्षक समेत रहेका सिंहले विभिन्न शक्तिकेन्द्र मार्फत चौधरीमाथि छानबीन रोक्न दबाव दिइरहेको स्रोतले बताएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले आइतबार (२५ माघ)मा लाजिम्पाटस्थित श्रीद्धि अस्पतालका मालिक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको थियो । गिर्वाण पक्राउपरेपछि सीआइबीले संगठित अपराध मुद्दामा अनुसन्धान गर्न अनुमति समेत पाएको छ । चौधरीले डा. तिमिल्सिना पक्राउ परेपछि आफूलाई समेत सीआइबीले पक्राउ गर्न सक्ने भन्दै विभिन्न शक्ति केन्द्र मार्फत आफूमाथिको छानबीन रोक्न दबाव दिएका हुन् ।
स्रोतका अनुसार जेनजी आन्दोलनको क्रममा ठमेलस्थित उनको निवास जलेपछि बालुवाटारमा गुपचुप बस्दै आएका चौधरीले आफ्नी छोरी मेघा चौधरीलाई भने विदेश भगाएको आरोप छ ।

यता सीआइबी भने कुनै पनि व्यक्ति वा फेक रेस्क्युमा संलग्नहरुमाथि छानबीन नगर्न कुनै पनि समुह वा सरकारबाट दबाव नआएको बताउँछ । ‘हामीलाई कसैबाट दबाव आएको छैन । अनुसन्धान निष्पक्ष र दबावरहित हुन्छ,’ सीआइबीका एक उच्च अधिकारी भन्छन्,‘तथ्य र प्रमाणले भेटिएका विषयमा हामी अनुसन्धानमा चुक्दैनौँ ।’

ट्रेकिङ कम्पनि, रेस्क्यु कम्पनि, हेलिकोप्टर कम्पनि, अस्पताल, गाइड, हिमाली क्षेत्रका होटल र विदेशी पर्यटक समेतको मिलेमतोमा फर्जी उद्दार र विमा ठगी हुँदै आएको छ ।

सीआइबीले फेक रेस्क्यु धन्दा गरेको अभियोगमा माउन्टेन रेस्क्यु सर्भिस प्रा.लीका प्रमुख जयराम रिमाल, सोही कम्पनिका म्यानेजर विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्सका सेयर धनी तथा नेपाल चार्टर सर्भिसका मालिक मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिसका अध्यक्ष रविन्द्र अधिकारी, विवेक थपलियालाई गत माघ ११ गते पक्राउ गरेको थियो ।

‘फेक रेस्क्यु’ र विदेशी विमा ठगी धन्दामा नर्भिक अस्पताल, सीआइबीले नदेखेको प्रमाण

जापानी आरोहिमाथि नर्भिक अस्पतालको चरम ठगी : ‘४ दिन’ अस्पताल राख्दा ३४ लाख बढीको बिल !