मिडियाको आवरणमा ‘घरजग्गा हत्याउने’ यी ‘टाइकुन’ : प्रभु बैंकको सेटिङमा १० करोडको घर लिलाम सकार !

दियो पोस्ट  

काठमाडौं । गृहमन्त्रीबाट राजिनामा दिनुपरेपछि रवी लामिछानेले आयोजना गरेको पत्रकार सम्मेलनपछि स्वार्थको द्वन्द अर्थात ‘कन्फ्लिक्स अफ ईन्ट्रेस’ भन्ने शब्द एकाएक चर्चित बनेको छ ।
मिडियाका मालिकहरुले विभिन्न क्षेत्रमा सौदाबाजी गरेको भन्दै लामिछानेले कतिपयको नामै लिएर आलोचना गरे । मिडियाको आवरणमा विभिन्न धन्दा गर्दै आएका केही व्यक्तिमाथि प्रश्न गर्नु स्वभाविक भएपनि लामिछाने गृहमन्त्रीबाट हट्नुपरेको झोँकमा यी विषय सार्वजनिक भएको तथ्य लुकाउन मिल्दैन ।

यद्धपी लामिछानेले कुनै नयाँ कसैले थाहा नपाएको तथ्य बोलेका होइनन् कतिपय विषय दियोपोस्ट डटकम र आर्थिक दैनिक लगायत संचार माध्यममा प्रकाशित भएका समाचारहरु नै थिए । मिडियाको आवरणमा अवैध धन्दा गर्ने अर्का एक व्यक्तिबारे दियोपोस्टले केही तथ्य फेला पारेको छ ।
एक प्रतिष्ठित दैनिक पत्रिकाका कार्यकारी निर्देशकले त बहुमुल्य घर नै बैंक र अदालतको सेटिङ मिलाएर हत्याएको तथ्य फेला पारेको हो ।

काठमाडौंको सिंहदरबारकै आडमा रहेको भव्य महलमा ती दैनिक पत्रिकाका साहुजीले बैंकसँगको मिलेमतोमा करोडौंको घर कौडीको भाउमा हत्याएको भन्दै पीडितले विभिन्न निकायमा गुहार मागेका छन् ।
अनामनगरस्थित भाटभटेनी र हनुमानथानको बीच सडकबाट बबरमहल निस्कने गल्लीमा एउटा भव्य महल छ । चाइनिज ईट्टाले बनाइएको उक्त घर १० आना भन्दा बढी क्षेत्रफलमा बनेको हो । यो घरको मुल्य आजको दिनमा १० देखि १५ करोड रुपैयाँ पर्छ । तर, प्रभु बैंकसँग मिलेर नयाँ पत्रिका दैनिकका निर्देशक सुशिल थापाले कौडीको भाउमा उक्त घर हत्याएका छन् ।

 

नेवा भाषको ‘नसा त्वँसा वास : नं खः अर्थात खानपिन औषधी पनि हो’ नामक पुस्तक लेखिका समेत रहेकी रुक्मिणी श्रेष्ठको नाममा दर्ता रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ११ को सिट नम्बर १०२–११४५–१५ कित्ता नम्बर ६६ को १० आना २ दाम क्षेत्रफल जग्गामा रहेको कम्पाउन्डसहितको घर सेटिङमा हत्याएको पीडित परिवारको गुनासो छ ।

उच्च अदालत पाटनमा पीडित परिवारले चढाएको निवदेन अनुसार रुक्मिनीकै नातेदार ज्ञान गोविन्द बैद्यसहित उक्त घरमा बस्दै आएका थिए । २०६८ चैत्र ३० गते हाईपोथेकिसन लिखत तयार पारी विजनेश ऋण बापत ३ करोड रुपैयाँ ऋण निकालिएको थियो । किर्ते धितो राखेर सयौँको घर सम्पत्ति हत्याएको भन्दै केही वर्षअघि पक्राउ परेका मधुसुदन सिलवालले तत्कालिन किस्ट बैंक हालको प्रभु बैंकसँग लिएको ऋण तिर्ने प्रयोजनका लागि रुक्मिणीको घर धितो राखिएको थियो । बैंकबाट निकालिएको ३ करोड मध्ये २ करोड ८ लाख रुपैयाँ उनै सिलवालले किस्ट बैंकलाई बुझाइएको थियो भने बाँकी रहेको ८२ लाख रुपैयाँ पीडित परिवारका ज्ञान गोविन्द बैैद्यले चलाएका थिए । त्यतिबेला उक्त रकम ५ घण्टामा निकालेर रफादफा गरिएको थियो ।

बैद्यका अनुसार अनुसार उनले बैंकमा सावाँ र ब्याज बुझाउँदै थिए । तर, बैंकले एक्कासी एकै व्यक्तिको चेकबाट ३ वटा काल्पनिक मानिस खडा गरि त्यतिबेला नै ७ करोड बराबरको घर सुशिल थापा र उनकी पत्नि अनुपमा थापाले मिलेर लिलामी गराएका थिए ।

‘मेरो पुनरावेदनको मुदा फैसला भएपछि सल्लाह गरौँला म घर खाली गर्छु तर मेरो ७ करोड मुल्य पर्ने घरको पैसा दिनुस् तर, तपाईंले लिनुपर्ने पैसा कटाउनुस् की मेरो घर बेच्न दिनुहोस् भनी याचना गरेँ,’ रुक्मिणी श्रेष्ठले दायर गरेको मुद्दामा भनेकी छिन्,‘तपाईंले मेरो घर खाने नियतले बढी मुल्यको घर कम मुल्यमा बेईमानीको नियत राखी लिलामी गर्नुभयो मलाई मौका समेत दिनु भएन । मलाई मानसिक तथा शारीरीक यातना नदिनुहोस् भन्दा विपक्षीले कानुन आफ्नो हातमा लिएकाले बाध्य भएर सम्मानित अदालतको शरणमा आएको छु ।’

पीडित श्रेष्ठ परिवारका अनुसार थापाकी श्रीमति अनुपमा थापाले लिलाममा जानु अघि ६ करोड २५ लाख मुल्यांकन भएको उक्त घर विभिन्न नक्कली मुल्यांकन र बैंक समेतको मिलेमतोमा २ करोड ३ लाखमै हत्याएका छन् । बैंकले धितो लिलामी गर्दा पहिलो हक ऋणीको भएपनि उनीहरुलाई सो प्रक्रियामा सहभागी समेत नगराई मिडियाको आवरणमा थापालाई आफ्नो सम्पत्ति सेटिङमा बुझाएको आरोप उनीहरुको छ ।


‘मैले मेरो सम्पत्ति पाउनका लागि बैंकसँग अनुरोध गर्दा पनि बैंकले मेरो केही पनि नसुन्दा मैले पटक पटक गरि काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत पाटनमा समेत मुद्दा दायर गरेको थिएँ । तर, बैंकले अदालतको फैसला आउनु पूर्व नै लिलाम सकार गरि अनुपमा थापालाई उक्त सम्पत्ति दिएर पठायो,’ बैद्यले भने,‘पछि थापा लगायत वडाका प्रहरी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र अन्य व्यक्ति घर खाली गराउनका लागि आउँदा मात्र थाहा भयो की बैंकले मेरो सम्पत्ति अनुपमा थापालाई लिलाम सकार गरि दिएको रहेछ ।

तत्कालिन किस्ट बैंक प्रभु बैंकमा गाभिएको थियो । २०७१ सालमा ऋण असुली न्यायाधीकरणमा परेको मुद्दामा वादी बनेर हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत तत्कालिन निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मुद्दा हालेका थिए । ऋण असुली न्यायाधीकरणले पनि पीडित परिवारलाई न्याय दिनुको सट्टा बैंक र मिडिया मालिक थापालाई जिताएको पीडित परिवारको गुनासो छ ।

अन्डरभ्यालुएशनको आशंका

श्रेष्ठ परिवारको उक्त घर बैंकले ऋण दिँदा कम्तिमा पनि ६ करोड २५ लाख रुपैयाँ मुल्यांकन गरिएको थियो । तर, बैंकले लिलाम सकार गर्दा भने २ करोड ३ लाख रुपैयाँमै सकार गरेको छ । ‘३ करोड ऋण दिँदा जति भ्यालुएशन भएको थियो त्यो भन्दा तीन गुणा कम भ्यालुएशन गरेर ऋणीको सम्पत्ति हत्याउन पाइँदैन,’ बैंक तथा वित्तिय क्षेत्रका एक विज्ञ भन्छन्,‘कि शुरुमै ओभर भ्यालुएशन गरेको हुनुपर्छ । यस्तो कार्य गर्नेमाथि प्रहरीले छानबीन गरि कारबाही गर्नुपर्छ ।’
बैंकले अदालतमा पठाएको लिखित जवाफमा पनि २ करोड ३ लाख रुपैयाँमै थापा परिवारले लिलाम सकार गरेको स्विकार गरिएको छ ।

को हुन् नयाँ पत्रिकाका निर्देशक थापा ?

नयाँ पत्रिका दैनिकका निर्देशक सुशिल थापा जिमि ग्रुपका मालिक हुन् । उनले भारत लगायत देशबाट चामल आयात गरेर नेपालमा विक्री गर्छन् । उनको उक्त कम्पनिले नक्कली भ्याट बिल विजक बनाएर राज्यलाई १८ करोडभन्दा बढी भ्याट छली गरेको भन्दै राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २०७७ असार २१ गते दर्ता भएको मुद्दा अहिलेसम्म विचाराधिन रहेको विभाग स्रोतको भनाई छ ।

याे पनि पढ्नुहाेस्

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !

अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापा विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता ! (जाहेरीसहित)

 

 

 

 

‘किर्ते भौचरकाण्डमा अन्नपूर्णका मालिक’ रामेश्वर थापालाई छलफल गराउन राष्ट्र बैंकको निर्देशन !

‘फरार अभियुक्त’ : रामेश्वर थापा, लक्ष्मी पौडेल र निरज श्रेष्ठलाई कास्की प्रहरीले किन पक्रन सकेन ?

रामेश्वर थापाले किर्ते भौचर देखाएर ‘हत्याए’को जग्गामा प्रभु बैंकको करोडौं ऋण : आर्थिक अपराधमा प्रभु बैंक !