काठमाडौं, १३ साउन । ललितपुरको पुल्चोक स्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले सर्वसाधरणको डिपोजिट’ रकम हिनामिना गरेको नयाँ तथ्य फेला परेको छ ।
भण्डारीले एक भिआईपी परिवारकी युवतीलाई पटक पटक करोडौँ ऋण दिएको र ब्याज भने मिनाहा गरेको तथ्य फेला परेको छ । उक्त युवतीको नाममा भण्डारीको शंकाष्पद कारोबार देखिएको छ ।
दियोपोस्टले फेला परेको स्टेटमेन्ट अनुसार ती युवतीको नाममा एक पटकमा लाखौँ रुपैयाँ ऋण गएको देखिन्छ । ती युवतीको कारोबार पनि उनै भण्डारीको एकाउन्टसँग भएको देखिन्छ ।
भण्डारी थरकै ती युवतीको नाममा सन् २०१२ अक्टोभर २६ मा ९९ लाख ५० हजार रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ । सर्वसाधरण अन्य ऋणीलाई २१ प्रतिशत ब्याज र १८ प्रतिशत पेनाल्टीको लगाउने र किर्ते हस्ताक्षेर गरेर लिलामीको नाममा बहुमुल्य जग्गाहरु हत्याउने गरेको यो सहकारीमा यी महिलाले भने ब्याज मिनाहा पाएकी छिन् ।
स्रोतका अनुसार ती महिलाले श्री लालीगुराँस सहकारीमै कलेक्टरको रुपमा प्रवेश गरेका थिइन् ।
श्रीमान गुमाएकी उक्त महिलासँग भण्डारीको ‘खास सम्बन्ध’ थियो । एक पूर्वमन्त्रीकी बुहारीसमेत रहेकी उनलाई सहकारीबाट दिइएको ९९ लाख ५० हजार ऋणमा पटक पटक ब्याज मिनाहा गरिएको छ ।
२०६९ कार्तिक १० मा ती युवतीले ९९ लाख ५० हजार सहकारीबाट विभिद ऋणको शिर्षकमा रकम बुझेको देखिन्छ ।
उनलाई ८ पटकभन्दा बढी ब्याज मिनाहा गरेको रेकर्डमा देखिन्छ ।
त्यस्तै अर्को स्टेटमेन्ट अनुसार ती युवतीलाई २०६९ साल वैशाख २ गते अर्को ऋण प्रवाहा गरिएको छ । जसमा उनले १३ प्रतिशत ब्याजदरमा ३० लाख रुपैयाँ हयर पर्जेज ऋण निकालेको देखिन्छ । यो ऋणमा पनि उनलाई पटक पटक ब्याज मिनाहा गरिएको छ ।
(हेर्नुहोस् स्टेटमेन्ट)
ती युवतीलाई २०६९ पुस २६ देखि २०७३ असार ३१ सम्म पटक पटक ब्याज मिनाहा गरेको रेकर्ड स्टेटमेन्टमा देखिन्छ । ती युवतीको खातामा प्रमुख कार्याकारी निर्देशक भण्डारीको एकाउन्टबाट समेत रकम ट्रान्सफर भएको रेकर्ड देखिन्छ ।
२०७४ पुस ६ गते लालीगुराँस सहकारीकै खाता नम्बर १२–०५००२–६ बाट १० लाख रुपैयाँ ट्रान्सफर भएको रकेर्ड फेला परेको छ ।
स्रोतका अनुसार ती महिलाले लालीगुराँस सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग हिमचिम बढाएरै ललितपुरको भैसेपाटीमा करोडौंको बंगाला बनाएकी छिन् ।
‘सुरेन्द्र भण्डारीले ती महिलाको नाम देखाउने मात्रै हो । कारोबार सबै भण्डारीकै लागी गर्ने गर्छिन्,’ एक सहकारी पीडित भन्छन्,‘सहकारीकै भवन रहेको ठाउँमा ती महिलाले उद्योग सञ्चालन गरेकी छिन् ।’
ती महिलाको नाममा ऋण निकालेको रकम समेत कहाँ लगानी भयो भन्ने तथ्य खुल्न सकेको छैन ।
‘उहाँ आफैले ऋण निकाल्दा पनि ३ प्रतिशतमै ईन्ट्रस्टमा निकाल्ने हो । यी महिलाको नाममा निकाल्दा भने १८ प्रतिशत ब्याज र शुन्य प्रतिशत ब्याज भनेपनि अन्ततः ब्याज मिनाहा गरिन्छ,’ सहकारीका एक उच्च तहका कर्मचारी भन्छन्,‘भण्डारीकै योजनामा यस्ता ऋण निकाल्ने र घरजग्गामा लगानी गर्ने र करोडौँ नाफा कमाउने गरिन्छ ।’
ती कर्मचारीका अनुसार यी युवतीसँग भण्डारीको विशेष सम्बन्ध छ । उनै युवतीले भण्डारीको सम्पूर्ण कारोबार समेत सम्हाल्ने गर्छिन् । ती युवतीले लाली गुराँस सहकारीमा उच्च पदस्थ व्यक्ति, सैनिक अधिकारी र नेपाल प्रहरीका उच्च अधिकारीको स्रोत नखुलेको रकम व्यवस्थापन गर्ने गर्छिन् ।
उच्च पदस्थ व्यक्तिको कालोधनको व्यवस्थापन गर्ने गरेकाले नै उक्त सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई कुनै निकायले कारबाही गर्न नसकेको उच्च स्रोत बताउँछ ।
‘स्रोत नखुलेको अर्बौं रकम यो सहकारीमा व्यवस्थापन हुन्छ । ती युवतीले नै यसको व्यवस्थापन गर्न भण्डारीलाई सहयोग गर्दै आएकी छिन्,’ केही महिना अघि अवकास लिएका एक कर्मचारीले भने,‘यदि स्वतन्त्रतापूर्वक छानबीन गर्ने हो भने यी युवती र सुरेन्द्र भण्डारी सम्पत्ति सुद्धिकरणमा तानिन्छन् बैंकिङ कसुरमा पर्नुपर्ने व्यक्तिहरु हुन् ।’
हामीले स्रोतबाट पाएको जानकारी नेपाल प्रहरीका एक इन्सपेक्टरले पुष्टि गरे ।
‘यहाँ कालोधनको शंकाष्पद कारोबार हुन्छ । अलि प्रतिष्ठित व्यक्तिको खातामा अस्वभाविक रकम राखिदने किर्ते ऋण देखाइदिने सम्मको हुन्छ,’ दाङ स्थायी घर भएका ती इन्सपेक्टरले आफ्नै कथा सुनाए,‘मैले १ लाख ऋण लिएको थिएँ । १५ लाख रुपैयाँ त ब्याज सहित बुझाएँ । तर फेरी २० लाखभन्दा बढी ड्यु देखाएपछि मैले पैसा बुझाउनै छाडिदिएँ । म मुद्दा मामिलाको तयारी गर्दैछु ।’
यो पनि