हत्या धम्की दिने उग्रवादी समुहका कमाण्डरको दाबी : ‘प्रदीप अधिकारीसँग पनि पैसा मागेका थियौँ’

सुदीप विश्वकर्मा  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका नागरिक उडयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको भूमिगत गिरोहसँग गहिरो सम्बन्ध रहेको पाइएको छ । आफूलाई उग्रवादी समुह नेपालका संयोजक बताउने प्रकाश पाठकले प्रदिप अधिकारीसँग पनि आफूले चन्दा मागेको बताएका छन् । बुधबार अख्तियारले अधिकारीलाई पक्राउ गरेपछि उनले भिडियो सार्वजनिक गर्दै अधिकारीलाई पक्राउ गरेकोमा विक्षिप्त बनेका छन् । यसले उनको सम्बन्ध अधिकारीसँग रहेको देखाउँछ ।

स्रोतका अनुसार यो समुहले हतियार खरिद गर्नका लागि विभिन्न व्यक्तिसँग चन्दा आतंक मच्चाएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० व्यक्तिको हत्या गर्ने भनि धम्कीपूर्ण पत्र सार्वजनिक गरेपछि यो विषयमा प्रहरीले छानबीन गरिरहेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी), उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ । शनिबार दियोपोस्ट डटकममा पहिलो पटक प्रमुख आयुक्त राई लगायतलाई हत्या गर्ने भनि धम्कीपूर्ण पत्र आएको विषयमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशित भएपछि नेपाल प्रहरीको प्रधान कार्यालयबाटै धम्कीपत्रमा उल्लेखित व्यक्तिहरुको सुरक्षामा ध्यान दिन सर्कुलर जारी गरिएको छ ।

 

भक्तपुरको नालिञ्चोकस्थित हेलिप्याड निर्माणमा भ्रष्टाचार भएको भन्दै अधिकारीलाई पक्राउ गरिएको थियो । उनलाई पक्राउ गर्नु र उनीसँगै सम्बन्धित व्यक्तिहरुको समुहबाट प्रमुख आयुक्त राईसहितका १० जनाको हत्या गर्ने धम्की आउनु संयोग मात्रै हो की अन्तर्निहित पनि छ भन्ने विषयमा समेत राज्यका निकायहरुले अनुसन्धान गरिहेका छन् ।

प्रहरीको सर्वाधिक खोजी सुचीमा रहेका प्रकाश पाठक काभ्रेको अमित लामा समुहसँग आवद्ध रहेर गुण्डागर्दीमा संलग्न व्यक्ति रहेको सुरक्षा निकायको विश्लेषण छ । पूर्वप्रधानमन्त्री केपी ओली निकट रहेका लामा युवा संघका नेता हुन् । त्यस्तै प्रहरी ईन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरिकै समुहमा रहेर कुनै समय गुण्डागर्दीमा संलग्न रहेका उक्त समुहका कमाण्डर भनिएका प्रकाश र नविन बस्नेतबीच समेत सम्बन्ध रहेको स्रोतले बताएको छ । नविन बस्नेत विभिन्न ठेक्का पट्टा सेटिङ हत्याएर पछिल्लो समय उदाएका विचौलिया हुन् । उनै नविन बस्नेतले प्रदिप अधिकारीलाई सुरक्षाका लागि भन्दै युवा संघकै कार्यकर्ता उपलब्ध गराएको उनी निकटस्थहरु बताउँछन् । ‘प्रदीप अधिकारीलाई सुरक्षाको व्यवस्था मिलाउने र प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दिने समुह एउटै एउटै देखिन्छ,’ एक अधिकारीले दियोपोस्टसँग भने,‘फरार भनिएका व्यक्तिले भिपिएन प्रयोग गरेर विभिन्न मुलुकको लोकेशन देखाएको अवस्था छ । ती व्यक्तिलाई पक्राउ नगर्दासम्म सबै विवरण खुल्ने अवस्था छैन ।’

अख्तियारले अनुसन्धानको क्रममा अधिकारीको मोबाइल समेत नियन्त्रणमा लिएको छ । उनको मोबाइल अनुसन्धान गर्दा यो गिरोहसँगको नाता समेत भेटिने संभावना छ । यद्धपी दियोपोस्टको ह्वाट्स एप सम्पर्कमा आएका उक्त समुहका संयोजकले आफूले प्रदीप अधिकारीसँग समेत हतियार किन्नका लागि पैसा मागेको बताएका छन् । त्यतिमात्रै होइन हतियार किन्नकै लागि विभिन्न व्यक्तिसँग चन्दा मागेको समेत उनको दाबी छ । भाटभटेनी सपुरमार्केटका मालिक मिनबहादुर गुरुङसँग पनि आफूहरुले चन्दा माग गरेको उनको दाबी छ । तर, यस विषयमा प्रतिक्रियाका लागि गरुङको मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकिरहेको छैन ।

यो गिरोहका सदस्यले दुर्गा प्रसाइँलाई पनि चन्दा मागेको स्रोत बताउँछ । यद्धपी प्रसाइँले चन्दा भने नदिएको गिरोहकै सदस्यको दाबी छ ।

 

 

प्रदिप अधिकारीकाे रहस्यमयी भूमिका 

विभिन्न आपराधिक गिरोहसँग सम्बन्धित रहेका अधिकारीको मुद्दा अख्तियारले निकै लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । पोखरा विमानस्थल लगायतको मुद्दा पनि अनुसन्धानमा छ । मुद्दा विशेष अदालतमा दायर गर्ने अन्तिम समयमा यस्तो धम्कीपूर्ण सन्देश आएको हो ।

अधिकारीसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माणमा साढे १३ करोड बढी भ्रष्टाचार गरेको आरोप उनीहरूविरुद्ध छ।

अधिकारीसँगै प्राधिकरणकै पूर्वनिर्देशक मुरारी भण्डारी पनि पक्राउ परेका छन्। उनीहरूलाई बकपत्र र थुनछेक बहसका लागि आज (शुक्रबार) विशेष अदालतमा उपस्थित गराउने तयारी अख्तियारले गरेको छ।

यसअघि आर्थिक अनियमिततामा महानिर्देशक अधिकारी मुछिएको समाचार लेख्ने पत्रकारलाई पनि ज्यान मार्ने धम्की दिएका थिए ।

यस विषयमा पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट (आईएफजे) ले समेत नेपाल सरकारको ध्यानाकर्षण गराउनुपरेको थियो ।

 

प्रेम राईलाई धम्की दिने उग्रवादीको सुचीमा लोकमानदेखि दुर्गा प्रसाइँसम्म (सुचीसहित)

अख्तियारका ‘प्रमुख आयुक्तले १० दिनमा राजिनामा नदिए हत्या गर्ने’ उग्रवादी संगठनको धम्की (पत्रसहित)

 

सिफारिस