दियोपोस्ट संवाददाता
काठमाडौं, १४ साउन । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले लिलामीको सम्पत्ति सकार्न श्रीमतीकै नाममा कम्पनि खडा गरेको खुलाशा भएको छ ।
दियोपोस्टले फेला पारेको प्रमाण अनुसार २०६९ असार १२ गते कम्पनि रजिष्टार कार्यालयमा दर्ता भएको एक कम्पनि उनकै श्रीमती र पछि भान्जाको नाममा छ ।
छोरी प्रीसा सिंह भण्डारीको नाममा शुरुमा कम्पनि रजिष्टार कार्यालयमा दर्ता रहेको उक्त कम्पनि सञ्चालक भने उनकै श्रीमती प्रमिला बस्नेत भण्डारी रहेको कम्पनि रजिष्टार कार्यालय स्रोत बताउँछ ।
स्रोतले उपलब्ध गराएको प्रमाण अनुसार श्री लालीगुराँस सहकारी मार्फत ऋणीहरुलाई २१ प्रतिशत ब्याज र २० प्रतिशत पेनाल्टीको नाममा ‘मिटर ब्याज’ धन्दा नै चलाउने गरिएको छ । उक्त रकम तिर्न नसक्ने सर्वसाधरण ऋणीको बहुमुल्य जग्गा लिलामी प्रक्रियामा लाने र लिलामी सकार्न भने आफ्नै श्रीमतीको कम्पनि खडा गरिएको पाइएको छ । त्यति मात्रै होइन उक्त लिलामी सकार्नका उक्त कम्पनिलाई लालीगुँरास सहकारीबाटै लङ टर्म एग्रीकल्चर लोनको शिर्षकमा ऋण निकाल्ने गरेको पाइएको छ ।
श्रीमती भण्डारीको नाममा ‘प्रीसा इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनिले सहकारीबाट लिलामी गरिएका बहुमुल्य सम्पत्ति कम मुल्यांकनमा सकार्दै आएको तथ्य भेटिएको हो ।
त्यति मात्रै होइन उक्त कम्पनिले नै सहकारीले सञ्चालन गरेको डेरी फार्मको जग्गा खरिद गरी सहकारीलाई भाडामा दिएको पाइएको छ ।
श्री लालीगुराँसबाट उक्त कम्पनिलाई करोडौँ ऋण प्रवाहा भएको समेत पाइएको छ । ‘मास्टर लिस्ट अफ लोन’ अनुसार भण्डारीकी श्रीमतीको स्वामित्व रहेको प्रीसा इन्भेष्टमेन्टलाई सन् २०१३ र १४ मा चार करोड ७८ लाख र ७१ लाख ५० हजार गरी ५ करोड ४९ लाख ५० हजार ऋण दिइएको देखिन्छ ।
ललितपुरको जावलाखेल ४ ठेगाना देखाइएको उक्त कम्पनिले कम्पनि रजिष्टार कार्यालयमा ‘रियल स्टेट र घर भाडासम्बन्धि काम गर्ने’ शिर्षकमा अनुमति लिएको देखिन्छ ।
चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर १२ कमरोजमा २०७० देखि शुरु भएको गाई फर्मममा १९ विघा जग्गा खरिद गरिएको थियो । खरिद गर्दा प्रीसा इन्भेष्टमेन्टले नै गरेको थियो । उक्त जग्गा सहकारीले भने भाडामा लिएको पाइएको छ । तर, डेरी फार्मले भने विभिन्न शिर्षकमा सहकारीबाट करोडौा रकम ऋण लिएको छ ।
एग्रिकल्चर प्रोजेक्टका नाममा एकै साथ करोडौा रकम निकालिएको रेकर्ड दियोपोस्टले यसअघि नै प्रकाशन गरेको छ ।
श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ७९ हजार २ सय ८९ रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ । तर, १५ करोड लगानीको कुनै भौतिक संरचना वा लगानी भने देखिँदैन ।
यत्तिका रकम निकाल्दा ब्याजदर भने शुन्य प्रतिशत उल्लेख छ । त्यस्तै सन् २०१७ जुन २२ मा श्री लालीगुराँस डेरी प्रोसेसनको नाममा ७९ हजार ४ सय ४४ रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ । जग्गा खरिदमा भण्डारीले करोडौँ कमिशन खाएको लालीगुराँस सहकरीकै कर्मचारीको आरोप छ ।
सम्पत्ति लिलामी सकार्न श्रीमतीकै कम्पनि !
लालीगुराँस सहकारीले सर्वसाधरण ऋणीमाथि मिटर ब्याजको अनौठो धन्दा नै चलाएको छ । यसको विस्तृत रिपोर्ट आगामी अंकमा प्रकाशन हुनेछ । सोही मिटर ब्याज तिर्न नसकेका हजारौँको बहुमुल्य घरजग्गा कौडीको भाउमा लिलामी गर्ने र उक्त लिलामी आफू र आफ्नै कम्पनि मार्फत सकार्ने गरिएको छ ।
भण्डारीको श्रीमतिको स्वामित्व रहेको यो कम्पनिको पनि मुख्य धन्दा यही हो । ‘प्रीसाले सस्तोमा घर जग्गा र सम्पत्तिहरु सकार्ने गरिन्छ । केही समय राखेपछि फेरी महँगोमा बेच्ने गरिन्छ,’ उच्च तहकी एक महिला कर्मचारीले भनिन्,‘धेरै मानिसहरुको घरजग्गा यसरी नै लिलामी गरिएको छ । प्रसिद्ध गायक रामकृष्ण ढकालको घर पनि यसरी नै लिलामीको नाटक गरिएको छ । घरमा सुरेन्द्र भण्डारी सरको परिवारकै सदस्य बस्नुहन्छ ।’