काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन रिफ्युलर खरिद गर्दा आफ्नै लागत अनुमान लत्याएर भारतीय कम्पनिको स्वार्थमा अर्को लागत अनुमान तयार पारेको खुलाशा भएको छ ।
भारतीय कम्पनि एमएस ग्लोब हाई फ्याब्सले पेश गरेको कोटेशनकै आधारमा अर्को लागत अनुमान तयार पारेको पाइएको हो ।
निगमले भारतको नयाँ दिल्ली फरिदावास्थित मथुरा रोडमा रहेको ग्लोब हाइ फ्याब्स एलएलपी नामक कम्पनी मार्फत चार थान रिफ्युलर खरिद गरेको थियो । यो कम्पनिसँग निगमले नियमित रुपमा रिफ्युलर आयात खरिद गर्दै आएको छ ।
मिति २०७३ माघ २१ मा २७ हजार लिटर क्षमता भएको एउटा रिफ्युलरको मुल्य एक करोड ९८ लाख ३१ हजार ३ सय ७४ अनुमानित लागत अनुमान तयार पारिएको थियो । तर, निगमले ३० प्रतिशत महँगोमा अर्थात प्रति गोटा २ करोड ९६ लाख नेपाली रुपैयाँ खर्च गरेर हवाई इन्धन रिफ्युलर खरिद गरेको हो ।
निगमले चार वटा रिफ्युलर ७ करोड ९७ लाख ८२ हजार भारतीय रुपयाँ अर्थात् नेपाली रुपैयाँ १२ करोड ७७ लाख ७० हजार ८ सय ७३ मा खरिद गरेको हो ।
दियोपोस्टले प्राप्त गरेको कागजात अनुसार ग्लोब हाई फ्याब्सले ७ करोड ९७ लाख ८२ हजार भारतीय रुपैयाँकै कोटेशन पेश गरेको थियो । सोही कोटेशनको आधारमा निगमले फेरी अर्को लागत अनुमान तयार पारेको पाइएको हो ।
यसअघि २७ किलोलिटर (२७ हजार लिटर) क्षमताको हवाई इन्धन रिफ्युलरको अनुमानित लागत मुल्य १ करोड ९८ लाख ३१ हजार ३ सय ७४ रुपैयाँ र १७ किलो लिटर क्षमताको रिफ्युलरको अनुमानित लागत मुलय १ करोड २१ लाख ९१ हजार ४ सय १८ र १२ किलोलिटर क्षमताको रिफ्युलरको प्रतिगोटाको अनुमानित लागत मुल्य ९६ लाख ७१ हजार ८ सय ५९ रुपैयाँ तोकिएको थियो ।
न्युनतम रकम कबोल गर्ने एमएस÷ग्लोब हाइफ्याब्स एलएलपीले निगमको लागत अनुमान भन्दा ३० प्रतिशत महँगोमा कबोल गरेको थियो । लागत अनुमान भन्दा महँगो भएको भन्दै मुल्यांकन समितिले उक्त ठेक्का नै रद्द गरेको थियो । तर फेरी २०७४ फागुन ९ गते २७ हजार लिटर (किलोलिटर) क्षमताका ४ थान रिफ्युलर खरिदका लागि आइसिबि टेण्डर आह्वान गरिएको थियो । सो अवधिमा पनि २७ केएल क्षमताको हवाई इन्धन रिफ्युलरको प्रतिगोटा अनुमानित लागत मुल्य १ करोड ९८ लाख ३१ हजार ३ सय ७४ रुपैयाँ नै थियो ।
तर, निगमका उच्च अधिकारीले कमिशनकै लोभमा सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै भारतीय कम्पनिलाई ३० प्रतिशत महँगोमा नै किन्नका लागि अर्को लागत अनुमान तयार पारेका हुन् । उनीहरुले भारतीय कम्पनिकै योजनामा अर्को लागत अनुमान तयार पारिदिएको स्रोत बताउँछ । लागत अनुमान बढाउँदा आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल लगायत उच्च अधिकारीले कमिशन समेत बढि पाउने हुनाले लागत अनुमान बढाएको स्रोत बताउँछ ।
स्वार्थ अनुसारकै लागत अनुमान तयार पारिएपछि सार्वजनिक खरिद ऐनलाई समेत धज्जी उडाएर निगमले ग्लोब हाई फ्याब्सलाई ठेक्का दिएको थियो ।
‘निगमले तयार पारेको लागत अनुमान भन्दा महँगोमा कोटेशन पेश गर्ने सप्लायर्स वा ठेकेदारकै प्रस्ताव अनुसार लागत अनुमान तयार पार्नु भनेको चरम भ्रष्टाचार हो,’ सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले भने,‘ठूला ठेक्का र खरिदमा हाम्रो कार्यालय वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन रहनु रहस्यमयी छ ।’
यो पनि पढ्नुहोस्