काठमाडौं, १० मंसिर । नेपाल आयल निगमको प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल यतिबेला निगमका उच्च अधिकारीलाई तर्साएर लागत अनुमान बढाउँदै अर्बौंको आयोजनामा कमिशन खाने प्रपञ्चमा छन् ।
उनले निगमकै पुराना र सिनियर कर्मचारीलाई स्पष्टिकरण सोध्नेदेखि कामकाज विहिन विभागतिर सरुवा गरेर तर्साउँदै भण्डारण, केन्द्रीय कार्यालय भवन, पाइपलाइन लगायत दर्जनौँ आयोजनाको लागत अनुमान बढोत्तरी गरिरहेका छन् ।
लागत अनुमान बढाएपछि स्वभाविक रुपमा कमिशन पनि बढ्ने भएकाले निगमले अगाडी बढाएको अर्बौंको आयोजनामा उनले मनोमानी रुपमा लागत अनुमान बढाइरहेका छन् । यसअघि सेक्युरिट प्रेस खरिदका लागि लागत अनुमान बढाउँदा कमिशन कति आउँछ भन्दै सोधेको अडियो भाइरल भएपछि सञ्चारमन्त्रीबाट गोकुल बास्कोटाले हात धुनु पर्यो । तर निगममा मनोमानी गरिरहेका पौडेललाई भने कसले कारबाही गर्ला ?
यसअघि नगदै धरौटी राखेर मात्रै इन्धन पाउने गरेका एयरलाइन्सहरुले पौडेल निगमको प्रबन्ध निर्देशक बनेर आएपछि भने भने बैंक ग्यारेन्टी मात्रै राखेर उधारोमै तेल हालेर हवाई जहाज उडाइरहेका छन् । यसले निगमलाई कति रसातलमा पुर्याउने हो भविष्यले बताउला ।
आयल निगम डुबाउने खेलमा दिलो ज्यान दिएर लागि परेका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसअघि उदयपुर सिमेन्टलाई समेत थला पारेको पाइएको छ ।
माफिया व्यापारिसँगको मिलेमतोमा उद्योगलाई आवश्यक नै नपर्ने मेसिन खरिद प्रक्रिया अगाडी बढाएपछि यसको पोल खुलेको हो । आयल निगममा प्रबन्ध निर्देशक बनेर आउनुअघि पौडेल उदयपुर सिमेन्टको जेनेरल म्यानेजर (जिएम) थिए । उदयपुरबाट विदाई हुँदा निकै तामझामसहित बाहिरिएका पौडेलले त्यहाँ कार्यरत रहँदा एउटा खरिद प्रक्रिया अगाडी बढाउँदा उद्योग नै धरासायी बन्ने अवस्थामा पुगेको छ ।
उदयपुर सिमेन्टमा ‘रअ’ मिल्स हाइड्रोलिक पावर प्वाइन्ट सिस्टम हुँदा हुँदै कमिशनकै लागि पौडेलले माफिया व्यापारी तथा पटक पटक सुन तस्करको आरोप लागि रहने दीपक मलहोत्रासँगको सेटिङमा नयाँ मेसिन खरिद प्रक्रिया अघि सारेका थिए ।
कुनै समय मलहोत्राकै कम्पनिसँग नजिक रहेर सिएको भूमिकामा विभिन्न कर्पोरेट हाउसको काम गरेका पौडेलले मलहोत्राकै स्वामित्व रहेको आइएमएस कम्सलटेन्सीबाट उदयपुर सिमेन्टलाई रअ मिल्स खरिद सम्झौता गरेका थिए ।
२०७४ साल चैत्र २० गते भएको सम्झौतामा उदयपुर सिमेन्टका तर्फबाट सुरेन्द्र पौडेल र आइएमएसका तर्फबाट सिइओ नविन पोखरेलले हस्ताक्षेर गरेका छन् । सम्झौता अनुसार चलिरहेको मिल हुँदा हुँदै उदयपुर सिमेन्टका लागि मलहोत्राको कम्पनिले करिब ५ करोड मुल्यमा रमिल्स खरिद गर्ने प्रक्रिया थालेको थियो । ‘दिपक मलहोत्रा आफै आएर रअ मिल्स यहाँ लगाउन खोजेको थियो । तर, दुई तीन पटक प्रयास गर्दा पनि सकेन । पहिला पैसा माग्यो । हामीले पैसा दिएनौँ । पछि उ अदालत गयो । अदालतले उद्योगकै पक्षमा फैसला गरिदियो,’ एक सञ्चालक समिति सदस्यले दियोपोस्टसँग भने,‘मुद्दा हारेपछि उसले ल्याएको पार्ट पुर्जा लग्यो । ९० लाख रुपैयाँ विगो पनि फिर्ता भयो । यो विषयमा सुरेन्द्र पौडेल जिएम हुँदा नै विरोध भएको हो । तर, उहाँले दिपक मलहोत्रालाई नै सहयोग गर्नुभयो । उद्योग धरासायी हुन नदिन हामीले मलहोत्राद्वारा किनिएको अनावश्यक मेसिन नै फिर्ता गरेका हौँ ।’
ती सदस्यका अनुसार तत्कालिन महाप्रबन्धक सुरेन्द्र पौडेलले कमिशनकै लागि उक्त मेसिन खरिद प्रक्रिया अघि बढाएका थिए । ‘यहाँसम्म की त्यो मेसिन खरिद गरेपछि उद्योगको उत्पादन ९० प्रतिशतले बृद्धि हुने भन्ने नक्कली रिपोर्ट समेत बनाइएको रहेछ,’ ती सदस्य भन्छन्,‘यो कमिशन मात्रै होइन उदयपुर सिमेन्ट डुबाउने खेल समेत थियो । जसलाई हामीले रोक्यौँ ।’
२०७६ माघ १३ गते मलहोत्राको कम्पनि र सुरेन्द्र पौडेलबीच भएको सम्झौता अनुसार खरिद गरिएको सामाग्री नै प्राविधिक रुपमा राम्रो नभएको भन्दै फिर्ता लैजानका लागि पत्र काटिएको थियो । उक्त पत्रको विरोधमा मलहोत्राले उच्च अदालत पाटमा मुद्दा दायर गरेका थिए । तर, उच्च अदालतका न्यायाधीशद्वय मुहम्मद साविर हुसैन र लोहित चन्द्र शाहको ईजलाशले अन्तरिम आदेश निरन्तरता नदिने फैसला गरेको थियो ।