विष्णु विश्वकर्मा
काठमाडौं, १८ साउन । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट अर्का एक व्यक्ति पनि ठगिएको खुलाशा भएको छ ।
दियोपोस्टको सम्पर्कमा आएका ललिपुर जिल्ला भैँसेपाटी सैँबुका रविन्द्र थापाले आफूलाई श्री लालीगुराँस सहकारीले करोडौं रकम ठगी गरेको बताएका छन् । उनलाई श्री लालीगुराँस सहकारीले कसरी ठग्यो ? दियोपोस्टसँग उनले यसरी आफ्नो कथा सुनाए ।
म रविन्द्र थापा सामान्य व्यावसाय गर्छु । ललितपुरको म कार्यविनायक नगरपालिका वडा नम्बर ३५ भैँसेपाटी सँवुमा बस्छु ।
मैले २०६८ साल भाद्र महिनामा लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाबाट ४० लाख रुपैयाँ ऋण लिएँ । सावाँहरु तिर्दै गइरहेको थिएँ । अन्तिममा सावाँ घटेर २० लाख रुपैयाँमा झर्यो । बाँकी २० लाख पनि तिरेँ । तिरेकै दिनमा ४० लाख पुन : ऋण लिएँ । लालीगुँरासमा मेरो ऋण पुनः ४० लाख भयो । ऋण चुक्ता गर्नका लागि मैले सावाँ तिर्दै गइरहेको थिएँ ।
कहिलेकाँही भनेको समयमा तिर्न नसक्दा पेनाल्टी (जरिवाना) लगाउन थाल्यो । १९ प्रतिशत ब्याज र १५ प्रतिशत जरिवाना तोकिएको थियो । समयमै ऋण तिर्न नसक्नु मेरै कमजोरी हो भन्ने महसुस गरि कुनै समस्या नमानी ब्याजसहित जरिवाना रकम पनि तिर्दै गएँ ।
मैले हर्जना छुट गरिदिन अनुरोध गरेँ । त्यसपछि ३ हजारसम्म छुट दिइयो । ३ हजारमात्र छुट दिने भएपछि मैले त्यो सहुलियत लिनका लागि अस्वीकार गरेँ । ऋण तिर्ने क्रममा २२ देखि २३ लाखसम्म हर्जनामात्र तिरेको छु ।
२०७५ साल वैशाख २ गते बाहिर जान लागेको थिएँ । सहकारीबाट फोन आयो । ‘तपाईँको जग्गा लिलामी हुने भयो’ यस्तो शब्द सुन्ने वित्तिकै म झस्किएँ । तत्कालै लालीगुँरासको कार्यलय पुल्चोक तिर मोडिएँ । कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई भेट्न खोजेँ तर भेट्न दिइएन । उनलाई भेट्न नदिइएपछि ऋण अधिकृत अनुजा कार्कीलाई भेटेँ । मैले के गर्ने भनेर जिज्ञासा राखे । ती कार्कीले ‘माथिको आदेश’ भन्दै मेरो जग्गा लिलामी हुनबाट बचाउन नसक्ने बताइन् ।
मैले वैशाख १५ भित्र लालीगुँरासको सावाँ ब्याज सबै तिर्ने बाचा गरेँ त्यसपछि एउटा निवेदन लेखेर बुझाउन ऋण अधिकृतले सुझाइन । त्यतिबेला मेरो शरीरमा कम्पन पैदा भइरहेको थियो । निवेदन लेख्न थालेँ, हात थरथरी काँप्यो । करिब ७ करोडको सम्पत्ति यसरी लिलामी हुन्छ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ । हात काँपेर निवेदन लेख्न सकिनँ ।
विद्युत प्राधिकरणको प्राङगणमा एकछिन बसेँ र जसोतसो निवेदन लेखेँ । त्यसपछि वैशाख १५ गतेभित्र सबै सावाँ ब्याज तिर्ने गरि सो निवेदनमा तोक लगाइदिएँ । तोक लगाएर आउने बित्तिकै ‘तपाईँसंग डेढ, दुई लाख कति छ बुझाउनुस्’ भने । मसंग डेढ लाख रुपैयाँ थियो त्यो रकम बुझाइदिएँ । वैशाख १५ गतेसम्म समयसिमा तोकिएको र मसंग अझै १३ दिनको समय रहेको कारण म केही ढुक्क थिएँ । त्यसपछि कामविशेषले बाहिर निस्किएँ ।
सोही महिनाको ७ गते (वैशाख ७ ) मा पुनः लालीगुराँसबाट फोन आयो । तुरुन्त कार्यलय उपस्थित हुन उर्दी लगाए । हतारहतार लालीगुराँसका कार्यलय पुगेँ र तिनै ऋण अधिकृतलाई भेटेँ । ‘तपाईँको जग्गाको भोली लिलामी निस्कँदै छ’ भन्दै उनले एउटा पत्रिकाको कटिङ देखाइन् । त्यसमा मेरो तीन पुस्ते विवरणदेखि जग्गाको क्षेत्रफलसम्म उल्लेख गरिएको थियो ।
म हतास भएँ । १५ गतेसम्मको समयसीमा तोकेर ८ दिन बाँकी रहँदा किन लिलामीको प्रक्रिया अगाडी बढाइयो भन्ने मेरो प्रश्नमा ती लोन अधिकृत ‘माथिको आदेश’ भन्दै चुप बसिन् । माथिबाट आदेश दिने व्यक्ति को हो ? मैले एकपटक भेट्न पाउँ भनि अनुरोध गरेँ ।
‘कसलाई भेट्ने हो भेट्नुस’ भन्दै उनले ठाडो आदेश गरिन् । अघिल्लो पटक म आफैले निवेदन लेखेको थिएँ तर त्यो दिन उनीहरु आफैले कम्युटरमा निवेदन टाइप गराए । मलाई हस्ताक्षर गर्न लगाइयो र मैले हस्ताक्षर गरेँ । हस्ताक्षर गरेपछि पुन एक डेढ लाख बुझाउनु पर्ने बताए । त्यसबेला पनि मसंग १ लाख रुपैयाँ थियो, सो रकम बुझाइदिएँ ।
बैशाख १० गते मैले लालीगुराँसलाई तिर्न पुग्ने पैसा जुटाएँ । पैसा जुटाउँदासम्म बेलुकीको ५ बजिसकेको थियो । त्यतिबेला फेरि फोन आयो । फोन लालीगुराँसकै थियो । उनीहरुले फेरी मलाई कार्यलयमा हाजिर हुन उर्दी लगाए ।
पाँच बजिसकेको भएपनि कार्यलयमा पुगेँ । लगभग एक घण्टासम्म कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीलाई कुरेँ । तर उनी आएनन् । म घर फर्किएँ । भोलीपल्ट सवा दस (१०ः१५) बजे नै लालीगुराँस सहकारीको कार्यलय पुल्चोक पुगेँ । आउने बित्तिकै आधा पैसा डिपोजिट गरिदिएँ ।
वैशाख १२ गतेको १२ बजेभित्र लालीगुराँसलाई बुझाउन पर्ने सम्पुर्ण रकम चुक्ता गरिदिएँ । सबै रकम तिरिसकेपछि धितो राखेको जग्गा फुकुवा गरिदिन आग्रह गरेँ । लोन अधिकृत सहमती जनाउँदै सिइओको कोठामा छिरिन् ।
उनी पौने ४ बजेमात्र सो कोठाबाट बाहिरिन् । त्यसपछि एउटा पेपरमा हस्ताक्षर गरि मालपोत पुग्यौँ र जग्गा फिर्ता गरेँ । त्यसपछि मैले शेयर फिर्ता मागेँ तर फिर्ता भएन ।
प्रोपर्टी त लिलाम हुनबाट जोगाएँ तर त्यसबीचमा लालीगुराँस सहकारीबाट निकै मानसिक तनावहरु खेपेँ । सहकारीबाट ४० लाख ऋण लिएको थिएँ तर तिर्ने बेलामा एक करोड ५० लाख देखि एक करोड ७५ लाखसम्म बुझाएँ ।
१५ गतेको समयसिमा राखेर ७ गते नै पत्रिकामा आउँछ भनेर ब्ल्याकमेलिङ गर्न मिल्छ ? टर्चर दिन मिल्छ ? अन्यलाई ब्याज पनि छुट दिन मिल्ने मलाई हर्जाना पनि छुट गर्न नमिल्ने ? यस्तै कुराहरुले मानसिक तनाव दियो ।
मैले भैसेपाटीमा रहेको जग्गा धितोमा राखेको थिएँ । त्यो जग्गा पनि मेरो ८ बर्षीय नावालक छोराको नाममा थियो । त्यतिबेला नै सो जग्गाको मुल्य साढे ६ देखि ७ करोडसम्मको मुल्यांकन थियो । राम्रो सम्पत्ती त उसलाई देख्नै नहुने रहेछ ।
मेरो घरजग्गा पनि छ । हिमालयन बैँकमा केही ऋण छ । उनले हिमालयन बैँकमा भएको ऋण आफ्नै सहकारीमा सार्नको लागि पनि फकाएका थिए । तपाईँकोमा घरजग्गा राखेर तपाईँलाई सित्तैमा खुवाउनु छैन । हिमालयन बैँकले सामान्य ९/१० प्रतिशतमा ऋण दिइरहेको बेलामा तपाइँको १९ प्रतिशत तिर्नको लागि मसंग पैसा धेरै भएको हो र ?’ मैले सिधै जवाफ फर्काएँ ।
लालीगुराँसको पेनाल्टी तिर्नका ३ रोपनी र अर्को ठाउँमा १५ आना जग्गा नै बेचेँ ।
लालीगुराँसबाट पीडित बनेका अन्य साथिहरु पनि छन् । उनीहरुलाई पनि सम्पर्कमा ल्याउन कोसिस गरिरहेको छु । यो सहकारी चलाउने सुरेन्द्र भण्डारीको ‘सेटिङ माथिसम्म छ’ भनेर सबै बोल्न डराउँछन् ।