काठमाडौं, ११ भदौ । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको अर्को कालो कर्तुत भेटिएको छ ।
सर्वसाधरण ऋणीको बहुमुल्य घरजग्गा लिलामी गर्ने र लिलामपछि आफ्नै कम्पनि मार्फत मुल्यांकन गर्ने र अन्डर भ्यालुएशन गरेर आफै सकार्ने गरेको पाइएको हो ।
पुल्चोकमा रहेको जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनि मार्फत अन्डर भ्यालुएशन हुने गरेको पाइएको हो । अन्डर भ्यालुएशन गरेर ऋणीको सम्पत्ति हत्याए ठगीको मुद्दा समेत लाग्न सक्छ ।
ललितपुरकै स्थानियबासी केशव पुरीको श्री लालीगुराँस सहकारीले आफ्नै सहायक कम्पनि जय लालीगुराँस इन्भेष्टमेन्ट मार्फत अन्डर भ्यालुएशन गरेर करोडौंको सम्पत्ति कौडीको भाउमा हत्याएको पाइएको छ ।
पुरी सहित उनका साझेदारहरुले २०६७ अषाढमा ललितपुर महानगरपालिका वडा नम्बर ७ नख्खुको जग्गा खरिद गरेको थियो । उनीहरुले कित्ता नम्बर ८५, ११७, ८७, ९३,९५,१०१, १०२ र ८८ नम्बरको ४ रोपनी ७ आना ३ पैसा जग्गा खरिद गरे ।
लालीगुँरास सहकारीबाट २ करोड २० लाख ऋण लिइएको थियो । तर केशव पुरीको भागमा ९० लाख मात्रै ऋण थियो । ऋण लिएको एक वर्षसम्म उनीहरुले सहकारीलाई ब्याज बुझाइरहेका थिए ।
उनको नामको सोही जग्गा सहकारीले २०७० माघमा अन्डर भ्यालुएशन गरेर सकारेको पाइएको छ । उक्त मुद्दा यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हेरिरहेको छ ।
सिआइबी स्रोतका अनुसार पुरीको स्वामित्व रहेको उक्त जग्गा सहकारीले ७६ लाख रुपैयाँमा सकारेको छ । उक्त जग्गाको हालको मुल्यांकनमा ३० करोड रुपैयाँ भन्दा माथि छ ।
सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले नख्खुको उक्त जग्गा सहकारीकै महिला कर्मचारी र आफ्ना आफन्तको नाममा नामसारी गरिसकेको समेत पाइएको छ ।
त्यस्तै पुरीकै स्वामित्व रहेको ललितपुरको गोदावरी स्थित किटिनी गाविस वडा नम्बर ९ को कित्ता नम्बर १७ को ७ रोपनी ९ आना जग्गाको मुल्यांकन यतिबेला १० देखि १५ करोड छ । तर, सहकारीले भने एक करोड ६ लाख रुपैयाँमा सकारेको पाइएको छ । गोदावरीको जग्गा भने अन्डर भ्यालुएशन गरेर पनि सहकारीकै नाममा राखिएको छ । सिआइबी स्रोतका अनुसार भण्डारीमाथि अन्डर भ्यालुएशन गरी ऋणीको सम्पत्ति ठगि गरेको अभियोगमा अनुसन्धान भइरहेको छ ।
दियोपोस्टले प्राप्त गरेको प्रमाण अनुसार जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टरले फरक फरक कित्ताको फरक फरक मुल्यांकन गरेको छ । भण्डारीकै स्वामित्व रहेको उक्त कम्पनिमा आवरणमा भने अन्य व्यक्तिलाई देखाइएको छ । उक्त कम्पनिमा फोन उठाउने स्टाफलाई पनि भण्डारीको बारेमा कसैले सोधे केही पनि नबताउन आदेश गरिएको छ ।
अन्डर भ्यालुएशन गर्ने कम्पनीलाई लालीगुराँसको ० प्रतिशतमा करोडौं ऋण !
किर्ते भ्यालुएशन गर्ने र ऋणीको सम्पत्ति हत्याउन सहयोगी भूमिका निभाउने जय लालीगुराँस इन्भेष्टेमेन्टको नाममा सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको शंकाष्पद कारोबार देखिन्छ । उनले सहकारीबाट करोडौं ऋण मनोमानी निकाल्ने गरेका छन् ।
स्टेटमेन्ट अनुसार सन् २०१५ जुलाई १५ मा उक्त कम्पनिको नाममा लालीगुराँस सहकारीबाट १ करोड ११ लाख रुपैयाँ ऋण निकालिएको छ ।
त्यसको एक दिनअघि १४ जुलाईमा २० लाख रुपैयाँ ऋण निकालिएको छ । सन् २०१६ मे ६ मा जय श्री लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ प्रा.लीको नाममा ९५ लाख रुपैयाँ ऋण निकालिएको छ ।
सर्वसाधरण ऋणीलाई २१ प्रतिशत ब्याज र २० प्रतिशत पेनाल्टीको नाममा मिटरब्याज धन्दा नै चलाइरहेका भण्डारीले आफ्नै स्वामित्वको यो कम्पनिलाई भने शुन्य प्रतिशतमा ब्याजमा ऋण दिएका छन् ।
यो कम्पनिका नाममा सन् २०१३ मै शुन्य प्रतिशत ब्याजमा २१ लाख ९० हजार रुपैयाँ ऋण निकालिएको छ ।
लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्