काठमाडौं, २२ साउन । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा चरम बेथिति रहेको पाइएको छ । दियोपोस्टले फेला पारेको कागजात अनुसार सहकारीका उच्च अधिकारीले किर्ते कागजात खडा गरी करोडौं रकम हिनामिना गरेको पाइएको छ ।
सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको मिलेमतोमा विभिन्न व्यक्तिको किर्ते कागजात बनाइ ऋण निकाल्ने र अपचलन गर्ने गरेको पाइएको हो ।
स्टेटमेन्ट अनुसार क्षत्र बहादुर थापाको नाममा सन् २०१४ फेब्रअरी ४ मा २५ लाख रुपैयाँ ऋण निकालेको देखिन्छ । स्टेटमेन्टमा ब्याजदर र पेनाल्टी दर उल्लेख छैन । तर २५ लाख रुपैयाँ भने एमएफ लोनको रुपमा दिइएको छ । श्री लालीगुराँस सहकारीका शेयर सदस्य समेत रहेका थापाले आफूले ऋण लिँदा निकै यातना भोग्नु परेको बताए ।
‘ब्याज र पेनाल्टी भनेर हैरान पार्थे । एक दिन ढिला हुँदा पनि तनाव हुन्थ्यो,’ उनले दियोपोस्टसँग भने,‘त्यो सहकारीमा शेयर छ त्यो शेयर बेच्न पनि मिलेको छैन । ऋण लिएको १० प्रतिशत सहकारीलाई नै बुझाउनुपर्ने नियम कुन दुनियाँमा छ ? मैले बुझाएको छु ।’
पुल्चोक निवासी रामहरी श्रेष्ठले श्री लालीगुराँस सहकारीको शेयर किनेका थिए । शेयर किन्दा उनको नागरिकता लगायत व्यक्तिगत विवरण सहकारीले लिएको थियो । सोही विवरणलाई सहकारीले दुरुपयोग गरी ७ लाख १० हजार रुपैयाँ निकालेको देखियो । आफ्नै नाममा आफूले थाहा नै नपाई लाखौँ ऋण भएपछि उनी झस्किए । त्यसपछि उनी सहकारीमा गएर विवरण मागे तर सहकारीले दिएन । १६ प्रतिशत ब्याज र १३ प्रतिशत पेनाल्टी तोकेर उनको नाममा ऋण रहेको स्टेटमेन्टमै देखिन्छ ।
वित्तिय संस्थाहरुले धितो दृष्टिबन्धकी राखेर मात्रै ऋण दिने गरेका छन् । धितो बिना ऋण दिन पाइँदैन तर, लालीगुराँस सहकारीमा भने किर्ते कागजात बनाएर ऋण दिइने गरेको पाइएको छ ।
सहकारीले ३ वर्षको लागि छोटो अवधिको कर्जा शिर्षकमा विभिन्न व्यक्तिको नाममा ऋण प्रवाहा गरेको किर्ते कागजात तयार पारेको छ ।
ऋण मागकर्ताको विवरण समेत स्पष्ट नभएको र हस्ताक्षर समेत नक्कली गरेर रकम निकाल्ने गरिएको सहकारीकै एक कर्मचारीले बताए ।
अधिकांश किर्ते जमानीकर्तामा प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले हस्ताक्षर गरेका छन् ।
सिता डांगीको पीताको नाम भवानी प्रसाद भट्टराई उल्लेख छ । उनको हस्ताक्षेरमा उनको नाम उल्लेख छ । उनको नाममा एकै पटक ९ लाख ८५ हजार रुपैयाँ ऋण निकालिएको छ । स्रोतका अनुसार यो रकम डांगीको नाममा भण्डारीले नै निकालेर अपचलन गरेका हुन् ।
राम भक्त बस्नेतको नाममा पनि ९ लाख ९० हजार रुपैयाँ निकालिएको छ । तर उनको विवरण सम्पर्क नम्बर केही उल्लेख गरिएको छैन ।
सचिन श्रेष्ठको नाममा पनि ९ लाख ९० हजार रुपैयाँ नै निकालिएको विवरणमा देखिन्छ । तर, उनको पनि धितो र अन्य विवरण केही छैन । सिन्धुली घर भएका भनिएका प्रेम प्रसाद दाहालको नाममा पनि ९ लाख ९० हजार रुपैयाँ ऋण निकालिएको छ । तर, ती व्यक्तिको अन्य डिटेल भने छैन । सहकारीकै उच्च अधिकारीले यसरी किर्ते व्यक्ति खडा गरी ऋण अपचलन गरेका हुन् । अशोक भण्डारीको नाममा ९ लाख पचपन्न हजार ऋण लिएको रेकर्ड छ । तर उनले उक्त रकम धितो विनानै निकालेको देखिन्छ ।
धादिङको नलाङ ५ घर भएकी सिता शाक्यको नाममा ९ लाख असि हजार रुपैयाँ ऋण छ । उनको नाममा पनि सहकारीकै उच्च अधिकारीले रकम निकालेका थिए । यसरी धितो बिना नै ऋण लिनहरुको दर्जनौँ सुची छ । ३ वर्ष अवधिका लागि भनेर दिइने यस्ता कर्जा लिने व्यक्तिहरुको हस्ताक्षर भने शंकाष्पद छ ।
‘श्री लालीगुराँस सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न व्यक्तिहरुको किर्ते डकुमेन्ट ल्याउनु हुन्थ्यो । उहाँले भनेको मान्छेलाई धितो पनि नचाहिने, ब्याज र पेनाल्टी पनि नतिर्नुपर्ने अवस्था थियो,’ श्री लालीगुराँसमा कार्यरत एक कर्मचारी भन्छन्,‘अहिले पनि धन्दा त्यही हो । यसरी करोडौं रकम अपचलन भएको छ । सन्बन्धित निकाय सबै मौन छन् ।’
एक प्रहरी निरिक्षकले श्री लालीगुराँस सहकारीबाट अण्डा पसल खोल्नका लागि १ लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋण तिरिसकेका उनको नाममा थप १० लाखको ऋण भण्डारीकै मिलेमतोमा निकालिएको थियो । ति इन्सपेक्टरले उक्त सहकारीबाट १ लाख भन्दा बढी ऋण लिएका थिएनन् ।
त्यस्तै किर्ते डकुमेन्ट बनाएर सिता साक्यको नाममा ९ लाख ८० हजार रुपैयाँ निकालिएको छ ।
ऋण जमानकर्ता विवरणमा उनको पिताको नाम र धादिङको नलाङ ५ भन्ने स्थायी ठेगाना मात्रै उल्लेख छ । उनको हस्ताक्षेर समेत किर्ते गरिएको बताइन्छ ।
नविन कुमार राउतको एप्रुभ एमाउन्ट ११ लाख रुपैयाँ उल्लेख गरिएको छ । तर, उनको इन्स्टलमेन्ट एमाउन्ट भने १६ लाख २१ हजार ५ सय ४९ रुपैयाँ छ । स्रोतका अनुसार राउतले ऋण तिरिसकेका थिए । तर, सहकारीमा रहेको उनको व्यक्तिगत विवरणको दुरुपयोग गर्दै लालीगुराँस सहकारीका उच्च अधिकारीले हिनामिना गर्न उक्त रकम निकालेका थिए ।