काठमाडौं, १९ साउन । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले दर्जनौँ व्यक्तिलाई ठगी गरेको र सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले अर्बौं रकम हिनामिना गरेको विषयमा दियोपोस्ट डटकमले श्रङ्खलाबद्ध फलोअप गरिरहेको छ ।
ठगीधन्दाको पर्दाफास भएपछि उक्त सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी दियोपोस्टमा समाचार रोक्न विभिन्न शक्ति केन्द्र धाउन थालेका छन् ।
भण्डारीले समाचारको खण्डन वा स्पष्टिरण गर्नुको सट्टा विभिन्न शक्ति केन्द्र मार्फत दियोपोस्टलाई दबाव र प्रभावमा पार्न खोजिरहेको पाइएको छ ।
उनले दियोपोस्टका प्रधानसम्पादक सुदीप विश्वकर्मा स्थायी घर धादिङ भएको थाहा पाएपछि प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेललाई समेत फोन गरेको पाइएको छ ।
मन्त्री जम्मकट्टेलसँग टेलिफोन कुराकानी विभिन्न ठाउँमा सार्वजनिक गर्दै हिँडेका भण्डारीले केही नलागेपछि सहकारीमै सल्लाहाकार रहेका एक पत्रकारलाई प्रयोग गरेका थिए ।
प्रदेश ३ का आन्तरिक मामिला मन्त्री शालिक राम जम्मकट्टेलले टेलिफोन कुराकानीका क्रममा भण्डारीसँग ‘प्रधानसम्पादक सुदीप विश्वकर्मालाई ३ टुक्रा पारिदिए हुन्छ’ भनेर निर्देशन दिएको समेत बताइएको छ ।
त्यति मात्रै होइन धादिङकै नेकपाका एक अर्का युवा नेतालाई कार्यालयमै बोलाएर सेटलमेन्ट गर्न प्रयास गरेको समेत पाइएको छ । उनले दियोपोस्टको श्रङ्खलाबद्ध समाचार रोक्नका लागि अर्का एक बरिष्ठ पत्रकारलाई समेत प्रयोग गरेका थिए । ती पत्रकारले व्यक्तिगत रुपमै भेटेर भण्डारीको समाचार ‘रोक्न’ दबाव समेत दिएका थिए । यद्धपी पीडितहरुमाथि चरम अन्याय भएको प्रमाण फेला परेका कारण दियोपोस्टले समाचार नरोक्ने बताएपछि उनी सम्पर्क विहिन भएका थिए ।
प्रेस काउन्सिलमा गुहार !
कुनै पनि सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन वा स्पष्टिकरण गर्नु परे सोही सञ्चार माध्यममा प्रमाणसहित खण्डन पठाउन सकिन्छ । तर, भण्डारीले भने सेटिङमै प्रेस काउन्सिलका कर्मचारीलाई झुक्याएको पाइएको छ ।
२ दिनअगाडीको मितिमा खण्डन टाइप गराएर २ दिनपछि मात्रै दियोपोस्टको कार्यालयमा पठाएका उनले सोही दिन काउन्सिलमा समेत उजुरी गरेका छन् ।
काउन्सिलमा दिएको उजुरीमा दियोपोस्टले प्रकाशन गरेको समाचारमा प्रमाण नभएको बताइएको छ । तर, उक्त सहकारी सम्बन्धि प्रकाशित समाचारमा सबै प्रमाणहरु प्रकाशित भएको पाठकहरुलाई जगजाहेर नै छ ।