काठमाडौं, २४ साउन । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको मनोमानी धन्दाका कारण शेयर सदस्यहरु रुष्ठ बनेका छन् ।
दियोपोस्ट डटकममा प्रमाण सहितको समाचार प्रकाशन भएपछि शेयर सदस्यहरुले आफूले जम्मा गरेको रकम र शेयर फिर्ता माग्न थालेका छन् । शेयर सदस्यहरुले रकम माग्न थालेपछि सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले शेयर फिर्ता दिनका लागि मार्केटिङ प्रमुख शर्मिला महर्जनलाई अह्राएका छन् ।
महर्जनले दर्जनौँ शेयर सदस्यको रकम फिर्ता गर्ने प्रक्रिया थालेकी छिन् । केही शेयर सदस्यलाई उनले आफै फोन गरेर तपाईंको शेयर फिर्ता लैजानुस् भनेकी छिन् । कतिपय शेयर सदस्यले भने ऋण चुक्ता प्रमाण पत्र समेत मागेका छन् ।
‘मलाई शेयर फिर्ता लिन आउनुस् भनेर फोन गर्नु भएको थियो । तर, मैले मलाई ऋण चुक्ता प्रमाण पत्र पनि चाहिन्छ भनेको छु,’ शेयर सदस्य रविन्द्र थापाले दियोपोस्टसँग भने,‘यो सहकारीमा जे पनि हुनसक्छ । भोली मेरो नाममा समेत ऋण निकालीदियो भने के गर्ने ? त्यसैले मैले ऋण चुक्ता पनि मागेको छु ।’
त्यस्तै अर्का एक शेयर सदस्यले पनि आफ्नो नाममा ऋण छ की छैन भन्दै सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीकै मोबाइल नम्बरमा फोन गरेका थिए ।
‘मेरो नाममा पनि किर्ते ऋण रहेछ भने म तपाईंलाई छोड्नेवाला छैन,’ एक शेयर सदस्यले भने,‘यहाँ जे पनि हुनसक्छ । सबै शेयर सदस्यहरुले शेयर प्रमाण पत्र र ऋण चुक्ता प्रमाण पत्र लिनुपर्छ ।’
ऋणीलाई भण्डारी नै झुक्याउन्छन्
प्रमुख कार्यकारी निर्देशकलाई भेट्न पुगेका दर्जनौँ ऋणीहरुलाई भण्डारीले ढाँट्ने गरेका छन् । उनले आफू कार्यालयमै हुँदा पनि ‘आफु बाहिर’ रहेको बताउन थालेका छन् ।
विहिबार एक पत्रकार श्री लालीगुराँस सहकारीको पुल्चोक स्थित कार्यालयमा पुग्दा क्यामेरा समेत लान पाएनन् । ‘म त्यहाँ पुग्ने वित्तिकै चार जना बडिकार्डहरुले चेकजाँच गरे । क्यामेरा लान पनि दिएनन् । हामीलाई प्रतिबन्ध नै लगाइयो,’ एक पत्रकारले भने,‘भेट्न जाँदा सुरेन्द्र भण्डारी बाहिर रहेछन् । उनी कार्यालय पनि आएनन् । हामीले केही प्रश्न गर्ने सोच बनाएर गएका थियौँ ।’
ऋणीको बद्नामी गर्न थालेपछि…
सर्वसाधरणको डिपोजिट, ऋणीको ब्याज र पेनाल्टीले चलेको सहकारीले ऋणीकै बद्नाामी गर्न थालेपछि ऋणीहरु नै रुष्ट बनेका छन् ।
गला बेचेर कमाएको पैसाले बनेको गायक रामकृष्ण ढकालको करोडौंको घर कौडीको भाउमा आफैले सकारेको सबै ऋणीलाई थाहा छ । त्यति मात्रै होइन उनको घरमा प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीकै दाई बस्छन् । तर, उनै ढकाललाई पटक पटक सुचना निकालेर बद्नामी गरेको सहकारीका शेयर सदस्यलाई समेत मन परिहेको छैन ।
‘उहाँ जस्तो प्रसिद्ध मान्छे । जसले सहकारीलाई करोडौं रुपैयाँ र घर बुझाउनु भयो । उहाँलाई सञ्चार माध्यममा समाचार दिएको आशंककाको भरमा बद्नामी गरिन्छ । हामीले २१ प्रतिशत ब्याज र त्यति नै पेनाल्टी बुझाइरहेका छौँ,’ एक ऋणीले भने,‘हाम्रो के हालत होला ? म ऋण बुझाउँने मान्छे मानसिक तनावमा परेकोछु ।’
घर जग्गा लिलामी गरेर सहकारीकै उच्च अधिकारीले आफ्नो नाममा राखिसकेका केशव पुरीको नाम एकै हप्तामा दुई पटक पत्रिकामा छापिएको छ । उनको बद्नामीले सहकारीको इज्जतमा दाग लागेको सहकारीकै कर्मचारी बताउँछन् ।
दर्जनौँ व्यक्तिले माग्छन्,‘शेयर फिर्ता !
सहकारीमा कार्यरत एक कर्मचारीका अनुसार दैनिक दर्जनौँ संख्यामा शेयर रकम फिर्ता माग्नेहरु आउन थालेका छन् । उनीहरुले शेयर मात्रै होइन ऋण चुक्ताको प्रमाण पत्र समेत दिनुपर्ने शर्त राख्न थालेका छन् । केही दिनअघि ३१ जनाभन्दा बढी व्यक्तिहरुले शेयर रकम फिर्ता मागेपछि सहकारीका कर्मचारी नै चकित परेका थिए ।
यद्धपी शेयर फिर्ता माग्नेहरुको विवरणका लागि मार्केटिङ प्रमुख सर्मिला महर्जनको नम्बरमा फोन गर्दा उनले ‘त्यस्तो नभएको’ भन्दै टार्ने कोशिस गरिन् ।
महर्जनले उनको नम्बर कसले दिएको भन्दै नम्बर दिने व्यक्तिको विवरण समेत मागिन् ।
लालीगुराँस भित्रका अन्य बेथिति तलको लिंकमा पढ्नुहोस्