समे फल्चा हडपेपछि श्री लालीगुराँस सहकारीबाट पैसा झिक्न नेवार समुदायको लाइन !

diyopost.com
दियो पोस्ट  बिहिबार, आश्विन ०७, २०७८ | ०:५८:३३

काठमाडौं, ६ असोज । नेवारी सभ्यतासँग जोडिएको ऐतिहासिक समे फल्चा हडपेर भवन निर्माण गरेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा पछिल्लो समय बचत रकम झिक्नेहरुको लाइन लागेको छ ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले विभिन्न झूटो कागजात सहित अड्डा अदालतलाई गुमराहमा राखेर समे फल्चा निर्माणमा अवरुद्ध गरेपछि ललितपुरका नेवार समुदायले सहकारीमा राखेको शेयर र बचत रकम फिर्ता माग्न थालेका हुन् ।

‘हामी अरु कुरा सहन्छौँे तर हाम्रो आस्था र धरोहरमाथि प्रहार गरेको सहँदैनौँ । हाम्रो सम्पदा हडप्न यतिसम्म झूटो र तिकिडम गर्ने भण्डारीले हाम्रो रकममा कति मनोमानी र भ्रष्टाचार गरेका होलान् भन्ने हामीलाई महशुस भएको छ,’ आफ्नो शेयर रकमसहित फिर्ता लिन लालीगुराँस सहकारी पुगेका एक शेयर सदस्यले भने,‘तर, कोरोनाको बहाना बनाएर फिर्ता रकम माग्दा दिएको छैन । म मात्रै होइन धेरै नेवार समुदायका मानिसहरुले शेयर रकम र बचत रकम फिर्ता मागेका छौँ ।’
पछिल्लो समय बचत रकम र शेयर रकम फिर्ता माग्नेहरुका कारण ‘करोडौँ’ रकम घाटामा पुगेको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पुल्चोकस्थित समे फल्चा पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जनका अनुसार पछिल्लो समय रकम फिर्ता माग्नेहरु धेरै बढेका छन् । ‘यो सहकारी पुल्चोकबासीको पनि सम्पत्ति हो ।

 

यहाँबाट रकम निकाल्ने अवस्था नआओस् भन्ने हामी चाहान्थ्यौँ । तर, मैले अहिले सन्दा हामीले रोक्दा पनि सकेका छैनौँ । धेरैले पैसा फिर्ता लिनुभएको भन्ने सुनेको छु,’ उनले भने,‘यो पक्कै पनि राम्रो खबर त होइन । तर यस्तो अवस्था हाम्रा कारण होइन सहकारीका कारण आएको हो ।’

उनका अनुसार सहकारीका कारण नेवार समुदाय विष्फोट हुन मात्रै बाँकी रहेको अवस्थामा छन् । ‘अहिलेसम्म हामीले रोकेका छौँ । तर सँधै हामीले रोक्ने कुरा आउँदैन । विष्फोट हुन मात्रै बाँकी छ,’ महर्जन भन्छन् ।

 

सम्बन्धित खबर