श्री लालीगुराँस सहकारीको ज्यादती विरुद्ध उत्रिए ललितपुरबासी, लखेटिए सहकारीका कर्मचारी !

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन ११, २०७८ | १६:४२:०४

 

काठमाडौं । श्रङ्खलाबद्ध कानुनी झमेला पार गर्दै ललितपुर महानगरपालिकाले पुल्चोस्थित २ सय ६ वर्ष पुरानो समय् फल्चा पुनर्निर्माण कार्य फेरी सुचारु गरेको छ ।

सोमबार विहान श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी भवनको अगाडीको भागमा जस्ताले बारेर फल्चा निर्माण कार्य शुरु भएको हो ।

उच्च अदालत पाटनको पछिल्लो आदेश अनुसार फल्चा पुनर्निर्माण कार्य शुरु हुन लागेपछि सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आफ्ना कर्मचारी र लगायतलाई अवरोध गराएका थिए । तर, स्थानिय नेवार समुदायले प्रतिरोध गर्न थालेपछि सहकारीका कर्मचारी भागेका थिए ।

फल्चा निर्माणमा अवरोध गर्न विभिन्न अदालतमा किर्ते मुद्दा हालेर सहकारीका प्रमुख कार्यकारी निर्देशक भण्डारीले अवरोध गर्दै आएका थिए । पछिल्लो समय सहकारी भवन भित्रै ‘होम प्रो’ फर्निसिङ सञ्चालन गरेर बस्ने लालीगुराँस सहकारीकै ऋणी सब्बु सिंह भण्डारीलाई प्रयोग गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

 

तर, भण्डारीले हालेको उक्त मुद्दामा उच्च अदालत पाटनले यसअघि नै दिएको आदेश विपरित अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशको आधारमा पुनर्निर्माण पुन रोकिएको थियो ।

आइतबार उच्च अदालतले यसअघि दिएको अन्तरिम आदेश निष्क्रिय गर्दै फल्चा निर्माण गर्न आदेश दिएको थियो । उच्च अदालतकै आदेश अनुसार सोमबार महानगरपालिकाले फल्चा निर्माण शुरु गरेको हो ।

यसअघि फल्चा निर्माण शुरु हुँदा लालीगुराँस सहकारीले अगाडीबाट एक साइड बाट भित्र प्रवेश गर्ने बाटो खुला गरिएको थियो । तर, सहकारीकी ऋणी सब्बु सिंह भण्डारीलाई प्रयोग गरेर फल्चा निर्माण अवरुद्ध गरिएपछि अब सहकारी भवन छिर्ने बाटो छेकिएको छ ।

भवन प्रवेशको द्वार बन्द गरिएको भन्दै सहकारीका कर्मचारीले अवरोध गर्ने कोशिस समेत गरेका थिए । स्थानियबासीहरुले सहकारीको ज्यादती अति भएको भन्दै प्रतिरोध गरेका थिए ।

 

समय् फल्चा मास्ने गिरोहको सेटिङ : सर्वोच्च र उच्च अदालतलाई लत्याएर जिल्ला अदालतको आदेश

‘फल्चाको भग्नावशेष’ हत्याएर श्री लालीगुराँस सहकारीको भवन : यी हुन् सम्पदा मास्ने अभियुक्त !

सम्बन्धित खबर