काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य तथा बचतकर्ताले ७ दिन भित्र आफ्नो बचत रकम निकाल्नुपर्ने भएको छ ।
सहकारीले २०६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा निर्माणमा अवरोध गर्दै विभिन्न अड्डा अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार ललितपुर महानगरपालिका र फल्चा पुनर्निर्माण उपभोक्ता समितिले उच्च अदालत पाटनको आदेश बमोजिम सहकारी भवनको ढोका र गेट नै बन्द हुनेगरि जस्ताले बारेर फल्चा निर्माण थालेपछि दुई पक्षबीच झडपको स्थिति आएको थियो ।
स्थानियबासीले भवन अगाडी आएर सहकारीका कर्मचारीलाई लखेटेपछि स्थानिय प्रशासनले वार्ता गराएको थियो । वार्तामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष रोविन महर्जन र सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी सहभागी थिए ।
वार्ता क्रममा भण्डारीले सहकारी भित्र प्रवेश गर्ने द्वार दिनुपर्ने माग गरेका थिए । यसअघि विभिन्न सञ्चार माध्यममा महानगरपालिका र फल्चा विरुद्ध विभिन्न झूटो अभियोग लगाउँदै आएका उनले सोमबारको वार्तामा भने आफूलाई बाटो मात्रै दिनुपर्ने माग गरेका थिए ।
तर, मेयर महर्जन र उपभोक्ता समिति अध्यक्ष महर्जनले कुनै पनि हालतमा सार्वजनिक फल्चाको स्थललाई बाटो बनाउन नदिने र जस्ताले बारेरै राख्ने अडान राखेका थिए । मेयर महर्जन र उपभोक्ता समिति अध्यक्षको अडानका बाबजुत सिडिओ उपाध्यायले सहकारी संवेदनशिल हुने भएका कारण बाटो दिन अनुनय गरेका थिए ।
सिडिओ उपाध्यायकै अनुनयका कारण भण्डारीले ७ दिनसम्म फल्चा नजिकैको ढोकाबाट भवनमा प्रवेश गर्न पाउने भएका छन् ।
‘अब सात दिन भित्र आफ्नो वैकल्पिक बाटो बनाउनुपर्छ । त्यसपछि बाटो बनेन भनेपनि हामीले जस्ताको बार लगाउनेछौँ,’ उपभोक्ता समिति अध्यक्ष महर्जन भन्छन्,‘अब ६ पटकसम्म अदालतबाट पराजित भएपछि पनि सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले आज पनि अवरोध गर्ने कोशिस गर्नु भयो । अब कसैको अवरोधले ऐतिहासिक फल्चा निर्माण रोकिनेवाला छैन ।’
सहकारीमा प्रवेशको ढोका नै बन्द हुने भएपछि बचतकर्ता तथा शेयर सदस्यहरुले ७ दिन भित्र आफ्नो बचत फिर्ता लिनुपर्नेभएको छ ।